

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति ९पुनः श्रम स्वीकृति समेत० बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन महिनामा ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति –पुनः श्रम स्वीकृतिसमेत० लिएका छन् । जसमा ४६ हजार ४ सय ५२ जना पुरूष र ६ हजार ३ सय ९२ महिला रहेका छन् । फागुन महिनामा पहिलो पटक मात्रै २८ हजार ३ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको आज १७ दिन भएको छ । इरानले खाडी तथा अन्य देशमा रहेका अमेरिका सैन्य बेस क्याम्पमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । जसले गर्दा यूएई, कतार, साउदी, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढिरहेको छ । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ । फागुन १७ गते श्रममन्त्री स्तरीय निर्णयबाट श्रम स्वीकृति तथा नवीकरण स्थगन भएको हो ।

फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ जना, साउदी अरेबियामा ६ हजार २ २५ जना श्रम स्वीकृति लिएर गएका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरु वैदेशिक रोजगारमा गएकाले फागुनमा जानेको संख्या पनि उल्लेख्य नै देखिएको हो ।
यसअघि माघ महिनामा ७० हजार ५ सय ३ जना, पुसमा ६२ हजार ५ सय ५९ जना, मंसिरमा ६५ हजार ७ सय ५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।


