विर्तामोड । निर्वाचनको परिणामले वामपन्थी राजनीति गम्भीर संकटतर्फ धकेलिएको निष्कर्षसहित झापाका वाम नेताहरूले वर्तमान नेतृत्वमाथि तीव्र असन्तुष्टि पोख्दै पुस्तान्तरण र पुनर्गठनको कडा माग गरेका छन् ।

झापाबाट जारी संयुक्त अपिलमा लामो समयदेखि सत्ता र संगठनमा पकड जमाएका नेतृत्वप्रति स्पष्ट असन्तुष्टि जनाउँदै जनताको भरोसा गुम्नुको प्रमुख दोष नेतृत्वकै कार्यशैलीलाई दिइएको छ । विचार र सिद्धान्तभन्दा व्यक्तिवाद, गुटबन्दी र अवसरवाद हाबी हुँदा वाम आन्दोलनको आधार कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ ।

नेताहरूले स्वीकारेका छन् ।जनताका आधारभूत मुद्दा सम्बोधन गर्न असफल रहँदा वाम शक्तिहरू क्रमशः जनसमर्थन गुमाउँदै गएका छन् । आन्तरिक लोकतन्त्र कमजोर बनाइनु, पार्टीभित्र सीमित समूहको नियन्त्रण बढ्नु र जनजीवनसँग जोडिएका एजेन्डामा स्पष्टता नहुनु अहिलेको पतनको मुख्य कारण भएको उल्लेख गरिएको छ ।
झापामा सम्पन्न समीक्षा बैठकले अबको राजनीतिक एजेन्डा स्पष्ट रूपमा कोरेको छ । पुरानो नेतृत्वशैली त्याग, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र संगठनको पूर्ण पुनर्गठन । “उही अनुहार, उही शैलीले अब वाम आन्दोलन जोगिँदैन,” भन्ने सन्देश अपिलमार्फत प्रस्ट पारिएको छ ।

त्यसैगरी, विभाजित वाम शक्तिहरूलाई एकताबद्ध नभएसम्म राजनीतिक रूपमा पुनर्जीवन असम्भव हुने चेतावनी दिइएको छ । साझा विचार, कार्यक्रम र नेतृत्व विकासबिना वाम आन्दोलन झन् कमजोर हुने ठहर गर्दै एकता, रूपान्तरण र सुदृढीकरणको अभियान तत्काल सुरु गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय हित, लोकतन्त्र र समाजवादको लक्ष्य प्राप्तिका लागि अब ‘कथन होइन, कार्यान्वयन’ मा उत्रिनुपर्ने दबाब समेत सिर्जना गरिएको छ । विगतका कमजोरीलाई ढाकछोप होइन, आत्मसमीक्षामार्फत सुधार गर्नुपर्ने स्पष्ट सन्देश दिइएको छ ।
विर्तामोडमा आयोजित समीक्षा बैठकपछि जारी विज्ञप्तिमा स्वतन्त्र वाम नेता नरेश खरेलसहित नेकपा एमालेका नेताहरु रविन कोइराला, गणेश पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका नेताहरु झलकसिंह दर्लामी संदेश, पुष्प पोख्रेल, रञ्जित तामाङ, ज्योतिसिंह दर्लामी, नेकपा संयुक्तका नेता निलमणी बराल, नेकपा माओवादीका नेता अर्जुन पाण्डे, प्रलोपा नेतृ लक्ष्मीदेवी न्यौपाने सरु र विभिन्न वाम घटकका नेताहरूले हस्ताक्षर गर्दै वर्तमान नेतृत्वप्रति चरम असन्तुष्टि जनाएका छन् ।
यो अपिल केवल औपचारिक दस्तावेज होइन—वाम आन्दोलनभित्रैबाट उठेको चेतावनी हो, जसले अबको दिशा बदल्न दबाब सिर्जना गरेको छ ।





