Aamsanchar

अब हाेला त पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन ?

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौँ – तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ।

पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको हो।

सम्पत्ति शुद्धीकरण विभागले पत्राचार गरेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ। तर सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पत्रबारे जानकारी नभएको बताए।

तर विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेको जानकारी उनले दिए।

‘विभागको पत्रअनुसार पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेका हौँ,’ उनले  भने, ‘तीनपूर्वमन्त्रीको सन्दर्भमा पत्र आएको थाहा भएन।’

जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा करोडौँ पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो। अनुसन्धानकै लागि स्थानीय प्रशासनले बुढानीलकण्ठस्थित देउवाको भवन भत्काउन रोक लगाएको छ। जेनजी आन्दोलनका क्रममा भवनमा पूर्णरूपमा क्षति पुगेपछि भवन भत्काउन थालिएको थियो।

यस्तै प्रचण्डको घरबाट समेत केही जलेका रुपैयाँ पाइएको थियो। यसअघि जेनजी आन्दोलनअघि नै उनको घरबाट करौँडौँ रुपैयाँ बाहिर लगिएको दाबी गरिएको थियो।

यस्तै पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो।

जेनजी आन्दोलनका क्रममा युवाको मृत्यु भएको विषयमा पूर्वप्रधानमन्त्री ‌‍ओली ‌‌‌शनिबार नै पक्राउ परिसकेका छन्।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर