

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार चलिरहेको जनाइएको छ ।

मुटुको धडकनमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल ओलीलाई अहिले अस्पतालको एनेक्स-१ स्थित बेड नं. ५०१ मा राखेर चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गरिएको छ ।
मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा मधुमेह, उच्च रक्तचाप, थाइराइड, मिर्गौलामा समस्या, मुटुको चालमा गडबडी र पत्थरी जस्ता स्वास्थ्य समस्याहरू रहेका छन् ।
हाल विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन र उपचार गरिरहेको अस्पतालले जनाएको छ । ओली जेनजी आन्दोलन दबाउन भूमिका खेलेको आरोपमा शनिबार फौजदारी कसुरमा पक्राउ परेका थिए । लगत्तै उनी अस्पताल भर्ना भएका थिए ।



