

काठमाडौं – नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् ।

यसअघि एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका थिए ।
उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।


