

काठमाण्डौ – विभिन्न माध्यमबाट क्याम्बोडियामा लगेर अलपत्र पारिएका १२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

थाइल्याण्ड सरकारको सहयोगमा हिजो उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी नेपाल फर्काइएको बैंककमा रहेको नेपाली दूतावासले जनाएको छ । पछिल्लो समय थाइल्याण्डमा मानव बेचबिखन तथा अनलाइन ठगीमा संलग्न गराइएका नेपालीहरूको उद्धार कार्यलाई तीव्र पारिएको छ ।
दूतावासका अनुसार क्याम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा भिसा अवधि नाघेर बसिरहेका विषयमा जानकारी प्राप्त भएको छ । यस्तो अवस्थामा परेका नेपालीलाई उद्धार तथा स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले समस्यामा परेका नेपालीहरूलाई सम्पर्कमा आउन आग्रह पनि गरेको छ । दूतावासले रोजगारीका लागि विदेश जाने नेपालीहरूलाई प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया पूरा गरेर मात्र विदेश जान आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण सूचनाबाट सचेत रहन पनि अनुरोध गरिएको छ ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नेपालबाट नजान दूतावासले आग्रह गरेको छ ।


