

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले भ्रष्टाचार नियन्त्रणको सुरुवात गरेको भन्दै प्रशंसा गरेको छ।

जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिब दुई तिहाई बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरुको सूची जनादेशको भावना र माग अनुरुप भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ।
धेरै वर्षदेखि उठाइदै आइएका सुशासनका विषयहरु अधिकांश रुपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रशंसा गरेको हो।

अध्यक्ष मदन कृष्ण शर्माद्वारा जारी गरेको प्रशंसापत्रमा भनिएको छ, ‘पहिलो बैठकमानै देशलाई सुशासनतर्फ लान समय सीमा सहितको बृहत कार्यसूची पारित गर्नुले सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा रहेको सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिवद्धता देखाएको छ।’
बृहत कार्यसूचीमा उल्लेखित कार्यहरुको कार्यान्वयनको सुरुवात भइसक्नु सराहनीय भएको संस्थाले जनाएको छ।


