Aamsanchar

पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जना नियन्त्रणमा, एक इजरायली, दुई भारतीय र पाँच नेपाली नागरिकसँग लागुऔषध फेला

Author Image
बुधवार, चैत १८, २०८२

काठमाडौँ – पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रात्रिकालीन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो।

पोखरा महानगरपालिका- १८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको वेला प्रहरीले मंगलबार रातिछापा मारेर नियन्त्रणमा लिएको हो। पार्टीमा लागुऔषध प्रयोग र विक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए।

उनकाअनुसार नियन्त्रणमा लिएकामध्ये ८ जनासँग लागुऔषध फेला परेको छ। एक इजरायली, दुई भारतीय र पाँच नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ।

उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताए । बाँकीको हकमा भने विगतको अपराधिक पृष्ठभूमि खोजिरहेको र सोहीअनुसार कारवाही प्रक्रिया अघि बढाउने उनले बताए।

‘त्यहाँ पार्टी गर्दै गरेको अवस्थामा मान्छेहरु फेला परे, उनीहरुको खानतलासी गर्ने क्रममा ८ जनासँगबाट विभिन्न प्रकारका लागुऔषध बरामद भयो। धेरै जना मापसे सेवन गरेको पनि भेटिएको थियो। हामीले अनुसन्धान गर्न ३८ जनालाई नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । लागुऔषध भेटिएकाहरुलाई लागुककऔषधसम्बन्धी नै अनुसन्धान हुन्छ र मुद्दा दर्ता हुन्छ’, उनले भने।

प्रहरी उपरीक्षक कार्कीकाअनुसार घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद गरिएको छ। बरामद सामग्रीमा एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिनजस्तो पदार्थ), गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन्। उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए।

Views: 9

प्रतिक्रिया (०)