

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । चैत २ गतेको हावाहुरीले छाना उडाएर बिचल्लीमा परेकाको घर पुननिर्माणका लागि शनिबार जस्तापाता वितरण गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडााका ११ घरधुरीलाई ४१.१ बण्डल, २ डिकुवाका १० घरधुरीलाई ३८.२ बण्डल, ३ च्यास्मिटारका ३२ घरधुरीलाई १२५.२ बण्डल, ४ बडहरेका ४ घरधुरीलाई १६.४९ बण्डल, ५ दुर्छिमका २ घरधुरीलाई ६ बण्डल, ६ मङ्गलटारका ३ घरधुरीलाई ११.६, बण्डल, ८ धितुङका १० घरधुरीलाई ३३.९ बण्डल, ७ हलेसीमहादेवस्थानका १ घरधरीलाई ४ बण्डल गरी ३१८.८९ बण्डल जस्तापाता वितरण गरिएको नगरप्रमुख विमला राईको सचिवालयले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार हावाहुरीपछि नगर कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय र त्यसपछि चैत ९ गतेको हिउँदे अधिवेशनले आवश्यक बजेटको व्यवस्था गरी छाना उडाएकाहरूलाई जस्तापाता वितरण गरिएको हो ।

प्राविधिकको रिपोर्टको आधारमा कुन घरलाई कति जस्तापाता लाग्छ भन्ने स्टिमेडको आधारमा छाना वितरण गरिएको गिरीले सुनाएका छन् । त्यस्तै उक्त नगरपालिकामा हावाहुरीले छाना उडाएका ७ विद्यालयलाई पनि जस्तापाता दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
छाना उडाएका विद्यालयका लागि भने प्रदेश सरकारले समेत जस्तापाताको व्यवस्था गर्ने आश्वासन दिएकाले त्यसको पर्खाइमा बसेको गिरीले बताए । प्रदेशले जस्तापाता उपलब्ध नगराए नगरपालिका आफैंले व्यवस्था गर्ने गिरीको भनाइ छ । ‘प्रदेश मन्त्रालयले छाना उडाएको विद्यालयलाई जस्तापाता दिने भनेर आश्वासन दिएको छ, त्यही भएर पर्खेर बसेको हो’, गिरीले भने, ‘प्रदेशले नदिए नगर आफैंले छानाको व्यवस्था गर्छ ।’


