काठमाडौँ – नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ। मन्त्रिपरिषद्को बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

‘बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन। जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ’, प्रवक्ता ठाकुरले भने, ‘अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।’

पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो ।
निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ। निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन संकट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्न पर्ने बताए।

‘बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ’, उनले भने, ‘धेरै विद्यालय निजी छन्। तिनले सवारीसाधनबाट ठूलो मात्रामा इन्धन खपत भइरहेको छ। साथै एसईई परीक्षा जारी रहेकाले सवारीसाधनको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्यांक आउँछ।’


