


काठमाडौं – नेपाल टेलिकमले डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने सिस्टम हटाउने भएको छ। टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गरेपछि अब यो प्रणाली अन्त्य गरिएको हो।
अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ । यससँगै ‘पे–एज–यू–गो’ (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुने जानकारी दिए । उनका अनुसार ‘युएसएसडि’मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ ।

नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी पनि तीव्र बनाएको छ । ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अब घरमै बसेर अनलाइन माध्यमबाट लिन सकिनेछ । फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधार गर्ने काम पनि भइरहेको टेलिकमले जनाएको छ।


