

काठमाडौँ – सांसद नीतिमा भण्डारी कार्कीले प्रतिफल र दिगोपनको सुनिश्चितता विना निर्माण गरिएका भ्युटावर तथा भवनको उचित सदुपयोग गर्न माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले मुलुकभर निर्माण भएका तर हाल प्रयोगमा नआएका यस्ता संरचनाको पहिचान गरी तिनलाई काम लाग्ने बनाउनुपर्नेमा जोड दिइन् ।
‘अहिले धेरै ठाउँमा भ्युटावर र भवनहरू प्रतिफल तथा दिगोपनको वास्ता नगरी बनाइएका छन्, जसले गर्दा ती संरचना प्रयोगविहीन अवस्थामा छन्,’ उनले भनिन्, ‘यस्ता प्रयोगमा नआएका भवनको उचित पहिचान गरी तत्काल सदुपयोगमा ल्याउनुपर्छ ।’

सांसद कार्कीले अब बन्ने नयाँ पूर्वाधारको हकमा विस्तृत अध्ययन जरुरी रहेको बताइन् । आगामी दिनमा कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्नुअघि त्यसले दिने प्रतिफल, दिगोपन र जनताको वास्तविक आवश्यकताका बारेमा गहिरो अध्ययन गरेर मात्र काम अघि बढाउन उनले सरकारलाई सुझाव दिएकी छिन् ।


