

काठमाडौँ – सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गर्न लागेको हो।

इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो। मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६।७१ प्रतिशतले वृद्धि गरिनेछ। त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गर्न लागिएको नेपाल यातयात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।

विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको उनले बताए। यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ।


