

ताप्लेजुङ – फुङलिङ नगरपालिका-१० फुरुम्बुमा रहेको पाथीभरा क्षेत्र र फक्ताङलुङ गाउँपालिका-६ लेलेपको कञ्चनजङ्घा क्षेत्रमा लगातार हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार रातिदेखि बिहीबार दिउँसोसम्म पनि भइरहेको छ । ‘छिनमै हिउँ पर्छ, केही समय रोकिन्छ र फेरि हिउँसहितको पानी पर्न थाल्छ,’ महतले भने, ‘मौसमले समस्या गराइरहेको छ ।’
विश्वको तेस्रो अग्लो हिमाल रहेको कञ्चनजङ्घा क्षेत्रको खम्बाछेन, लोनाक, घुन्सातिरको मौसम पनि यस्तै रहेको लोनाकमा रहेका फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य सेराप शेर्पाले जानकारी दिए ।

‘हिजोदेखिनै हिउँ परेपछि यता आएका पर्यटकहरू बाटोबाटोमा रोकिएका छन्,’ शेर्पाले भने, ‘यत्तिकै हिउँले त ठूलो असर पार्दैन एक/दुईदिन बसेर गन्तब्यमा जान्छन् । अझ थपियो भने समस्या हुन्छ ।’ यस वर्ष पुस माघमा नपरेको हिउँ फागुनरचैत महिनामा परिरहेको उनले बताए ।


