

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ । बिहीबार ९चैत २६० विशेष अदालतमा उक्त मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि अर्को दिनका निम्ति सरेको हो । भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइका निम्ति न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलास तय भएको थियो । यसअघि, यही चैत १५ गते विशेष अदालतले फैसला प्रयोजनका निम्ति अन्तिम सुनुवाइको पेसी तय गरी सरकारी वकिल र नेता नेपालका कानुन व्यवसायीसँग बहस नोट समेत मागेको थियो ।

पूर्वप्रधानमन्त्री नेपालका कानुन व्यवसायी रहेका विशेष अदालत बार एसोसिएसनको अध्यक्ष अधिवक्ता टीकाबहादुर कुँवरले इजलासका सदस्य न्यायाधीशसँगको निकटताका कारण मुद्दा ‘हेर्न नमिल्ने’ भएको जानकारी दिए । ‘‘विदुर कोइराला श्रीमान् ९न्यायाधीश०ले हेर्दिनँ भनेका कारण अर्को दिनका लागि पेसी सरेको हो,’’ अधिवक्ता कुँवरले बाह्रखरीसँग भने, ‘‘अरू कारण केही होइन ।’’
कानुन व्यवसायीका तर्फबाट इजलासको।मागबमोजिम बहस नोट पेस भइसकेको छ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता नेपाललगायत ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । गएको जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
०८२ साल जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । अख्तियारले नेपाललगायत प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ ।
अख्तियारले यो प्रकरणमा हदबन्दी छुटमा जग्गा किन्न र बिक्री गर्ने निर्णय प्रक्रियामा तत्कालीन प्रधानमन्त्री नेपाल, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तसहित उच्चपदस्थ अधिकारी संलग्न रहेको जिकिर गरेको थियो । प्रतिवादी रहेका घिमिरेको निधन भइसकेको छ ।
मन्त्रिपरिषद्को नीतिगत निर्णयमा मुद्दा चलाउन नपाइने कानुनी व्यवस्था छ । यही कारण व्यक्तिगत संलग्नता देखाएर मुद्दा दर्ता गरिएको थियो ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले ०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो ।
त्यसअघि, ०६६ माघ १८ गते नेपालले ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाएको अभियोगपत्रमा उल्लेख छ । ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरिएको अभियोग छ ।


