

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई धोका नदिएको बताएका छन् ।

उपसभामुखमा समर्थनको विषयलाई स्पष्ट पार्दै उनले यस्तो बताएका हुन् ।
“सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैँ साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कैयौँ गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?” संसद सचिवालयबाट निस्कँदै गर्दा लामिछानेले भने ।

रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने बताएपछि बिहीबार शाहीले लामिछानेले धोका दिएको अभिव्यक्ति दिएका थिए ।
सभापति लामिछानेले आगामी दिनहरूमा राजनितिक संवादहरू जारी रहने बताएका छन् ।
“राजनीतिक संवाद हुने नै छन् । धोकाभन्दा पनि कहिलेकाही अन्तिम समयमा हामीले सही निर्णय गर्ने समय आउँदा कहिलेकाही अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केही होइन,” लामिछानेले भने ।


