

इनरुवा- इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गर्नुभएको छ । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले सडक बाटोको जग्गामा अधिक्रमण गरेर बनाएको घर टहरा हटाउन सुरुवात गर्नुभएको हो । शुक्रबार बिहानमात्र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले आफ्नो घर अगाडि वर्षौदेखि टहरा बनाएर सडकपेटी अतिक्रमण गर्नुभएकाले उहाँकै घर अगाडिबाट डोजर चलाएर सडकपेटी खाली गराउने अभियान सुरु गर्नुभएको छ ।

इनरुवा नगरपालिकाले पटक पटक ३५ दिने, १५ दिने, सात दिने र तीन दिने सूचना जारी गरेको भए पनि इनरूवाको अतिक्रमित सडकपेटीबाट घरटहरा नहटाई खाली नगरेकाले लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । तीन वर्षदेखि पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले बाध्य भएर अतिक्रमित सडकपेटी खाली गराउन अभियान नै सुरु गरेको उहाँको भनाइ छ । सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगर प्रमुख केदार भण्डारीसहितको नगरपालिका टिम नै डोजर लिएर सडकमा निस्किएको छ ।
नगर प्रहरीका साथै सुरक्षा निकायको रोहवरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाउनुभएको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा नगरपालिकाले गरेको जनाएको छ । सडकपेटी खाली गराउन पुग्नुभएका नगर प्रमुख भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर कारबाहीमा उत्रनु परेको बताउनुभयो ।

उहाँले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दा अटेर गरेको जानकारी दिनुभयो । पहिलो पटक आफ्नै घरको अगाडिको टहरामा डोजर चलेको विषयमा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले समयमा भत्काउन नसकेकाले आफ्नो घर अगाडिमा रहेको एउटा टहरा भत्काएको प्रतिक्रिया दिनुभयो ।
सबैलाई उहाँले सडकपेटी खाली गराउन आग्रह गर्नुभयो । फाराकिलो सडकपेटी आवश्यकता नभएको अवस्थासम्म बनाएको र अहिले नगरपालिकाले चलाएको अभियानलाई सफल पार्न आफ्नो घर अगाडि रहेको एउटा टहरा भत्काएकोमा कुनै आपत्ति नभएको बताउनुभयो ।


