

वीरगञ्ज – भारतबाट खरिद गरी वीरगञ्जमा ल्याएर चलाउने गरिएका २२ थान इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगञ्ज र आसपासका स्थानीयले रक्सौलबाट इलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगञ्जमा प्रयोग गर्दै आएका छन् ।
तर त्यसरी खरिद गरी ल्याइएका इलेक्ट्रिक स्कुटरको भन्सार राजस्व नतिरिकन वीरगञ्जमा छ्याप्छ्याप्ती प्रयोगमा ल्याउन थालिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिने अभियान बिहीबारदेखि थालेको हो । बिहीबार पहिलो दिनमै वीरगञ्जसहित जिल्लाका विभिन्न नाकाबाट त्यस्ता २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
उनका अनुसार बिहीबार वीरगञ्ज–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगञ्ज– २४ स्थित सिर्सिया नाकाबाट ७ थान र बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनिभाठा नाकाबाट १ थान भारतीय इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती २२ थान इलेक्ट्रिक स्कुटरको १७ लाख ३० हजार रुपैयाँ मूल्याङ्कन गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निरौलाले जानकारी दिए ।




