

काठमाडौं – नक्कली एसएलसी प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालत काठमाडौंले होम बहादुर भारतीलाई ६ महिना कैद सजाय सुनाएको छ।विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भारतीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।
अदालतका अनुसार भारतीले देवघाट गाउँपालिकामा विभिन्न पदमा काम गर्न नक्कली प्रमाणपत्र पेश गरेका थिए। उनले २०७५ असोज ८ देखि २०८१ चैत १ सम्म सरसफाइ सुपरिवेक्षक, उत्प्रेरक, संयोजक तथा सामाजिक परिचालकका रूपमा करार सेवामा काम गरेको अनुसन्धानबाट खुलेको छ।
अदालत समक्ष बयानका क्रममा भारतीयले ८ कक्षा पास गरेको तर एसएलसी उत्तिर्ण नगरेको स्वीकार गरेका थिए।

उनको व्यक्तिगत विवरण फाइलमा सिम्बोल नम्बर ०२५२४४३१-एम, २०५५ सालमा परीक्षा दिएको र ४६६ अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएको उल्लेख गरिएको एसएलसी प्रमाणपत्रको प्रतिलिपि पेश गरिएको थियो। तर, परीक्षा बोर्डबाट प्राप्त विवरणमा उक्त नाममा कुनै अभिलेख नभेटिएको अदालतको ठहर छ।
अदालतले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐनको दफा १६(१) अनुसारको कसूर ठहर गरेको हो। उनीविरुद्ध ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ।



