

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ ।
१६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले आज अपराह्न जारी गरेको सूचनामा उल्लेख छ।

विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ
पानी पनि पर्ने
साथै मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने प्रणाली पनि पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ । त्यसले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।
मौसमविदहरुका अनुसार नेपालको पूर्वी भूभाग (भारतको उत्तराञ्चलतिर) र नेपालको पश्चिम भूभाग (हिमाञ्चल प्रदेशतिर) प्रिमनसुन प्रणाली थिए ।
केही दिन नेपालमा गर्मी बढेपछि ती दुवै सिस्टम नेपालतिर प्रवेश गरेर एकापसमा मिसिएका छन् ।
‘ती दुईवटा सिस्टम अलग–अलग हेर्दा खासै ठूला होइनन् तर आपसमा मिसिए अनि नेपालमै लोकल लेभलको सिस्टम पनि थपिँदा कुनै-कुनै ठाउँमा ठूलो वर्षाको सम्भावना र जोखिम बढेको हो,’ मौसमविद उज्वल उपाध्यायले भने ।
मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । १५ वैशाखको तुलनामा १६ वैशाखमा बढी वर्षा हुने सम्भावना छ ।
काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ ।
मौसमविद् उज्वल उपाध्यायका अनुसार अहिलेको प्रणालीको प्रभावले काठमाडौं उपत्यका र आसपासका भू(भागका साथै पूर्वी क्षेत्रको प्रायस् सबै ९मेचीसम्मको० भू–भागमा वर्षा गराउने छ ।
भोलि बुधबार र पर्सि बिहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालीगण्डकीसम्म बेला–बेलामा वर्षा भइरहने देखिन्छ ।
त्यसैले मौसमविद् उपाध्यायको सुझाव छ, ‘त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्गसँगै सिद्धार्थ, पासाङल्हामु, बीपी राजमार्गहरूमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा सकेसम्म यात्रा नगरौं ।’



