

दमक- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताउनुभएको छ ।
प्रेस युनियन झापाको आयोजनामा बिहीबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले पार्टी अहिले नियमित महाधिवेशनतर्फ अग्रसर भइसकेको जानकारी दिनुभयो । विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको उल्लेख गर्दै उहाँले पार्टीभित्र अब कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले कांग्रेसभित्र लामो समयदेखि राजनीति गर्दै आउनुभएका अग्रज तथा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूलाई सम्मानपूर्वक समेट्दै अघि बढ्ने बताउनुभएको छ । “हाम्रो उमेर बराबर राजनीति गरेका अभिभावकहरू पार्टीमा हुनुहुन्छ, उहाँहरूलाई साथमै लिएर अघि बढ्छौँ,” उहाँले भन्नुभयो ।

उपसभापति शर्माले संसद्मा पनि कांग्रेसको भूमिका सशक्त र जिम्मेवार हुने बताउनुभयो । प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस संयमित, परिपक्व र खबरदारीपूर्ण ढङ्गले प्रस्तुत हुने उहाँको भनाइ थियो । शर्माले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई रूपान्तरण गर्दै जनताको अपेक्षाअनुसारको कार्यशैली अपनाइने समेत जानकारी दिनुभयो ।
उहाँले वर्तमान सरकार पाँच वर्ष निरन्तर चलोस् र जनताको अपेक्षा पूरा गरोस् भन्ने पक्षमा आफूहरू रहेको स्पष्ट पार्नुभयो । संविधान संशोधन लगायतका विषय वा जनहितमा हुने जुनसुकै कार्यमा सरकारलाई आफ्नो सधैँ साथ र सहयोग रहने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।



