

झापा- समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप मिति २०८३ साल वैशाख १६ गते झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ७ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी र ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीबाट खटिएको संयुक्त टोलीले उक्त कार्यक्रममा विभिन्न सवारी साधनका चालक, यात्रु तथा पैदल यात्रुहरूलाई “सडक सुरक्षा तथा ट्राफिक नियम” सम्बन्धी जानकारी प्रदान गरेको थियो। कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्त्व तथा दुर्घटना न्यूनीकरणका उपायहरूबारे सचेतना फैलाइएको थियो।
त्यसैगरी, कार्यक्रममा करिब ६० थान “आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामूलक पर्चा समेत वितरण गरिएको प्रहरीले जनाएको छ। उक्त अभियानमार्फत मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा आत्महत्या जस्ता संवेदनशील विषयमा समुदायलाई सचेत बनाउने प्रयास गरिएको बताइएको छ।

प्रहरीले यस्ता कार्यक्रमहरूले समुदायसँगको सहकार्य बलियो बनाउनुका साथै सामाजिक सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



