

खोटाङ – खोटाङलाई तराईसँग जोड्ने वंशिलाघाट र फोक्सिङटार दुवै ठाउँको बेलिब्रिज निकाल्ने तयारी गरिएको छ । सुनकोशीमा पानीको बहाब निरन्तर बढेसँगै दुवै ठाउँको बेलिब्रिज निकाल्ने तयारी गरिएको हो । वंशिलाघाट र फोक्सिङटारको बेलिब्रिज निकालेपश्चात् तराईसँग खोटाङको सिधा यातायात टुट्ने छ ।
वंशिलाघाटमा पहिलो पटक गत माघ २४ गते बेलिब्रिज जडान गरेर सिधा यातायात सञ्चालन गरिएको थियो । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै वैशाख मसान्तसम्म बेलिब्रिज निकाल्न निर्माण व्यवसायीलाई पत्रचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले बताउनुभयो ।
यस्तै फोक्सिङटारको बेलिब्रिज पनि वैशाख मसान्तबाट पूर्ण रूपमा यातायात बन्द गरेर निकाल्ने तयारी गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी सुमन गोलेले बताउनुभयो । तराईसँग सिधा यातायात जोड्ने उक्त दुई नाकाबाट अहिले सवारीसाधन वारपार गरिरहेका छन् । बेलिब्रिज निकालेपछि खोटाङको दुःख पुनः दोहोरिने छ । वैशाख मसान्तपश्चात् दुवै ठाउँबाट झोलुङ्गे पुलको सहारामा कोशी वारपार गर्नुपर्ने नागरिकको बाध्यता हुने छ । वंशिलाघाटस्थित सुनकोशीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको थियो । खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोशीमा पहिलो पटक बेलिब्रिज जडना हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको थियो ।

अस्थायी बेलिब्रिजले जिल्लाको जन्तेढुङ्गा गाउँपालिका, वराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिकालगायत भोजपुरका केही गाउँका नागरिकलाई तराई जान आउन केही महिनाका लागि सुविधा दिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयबाट एक करोड ८७ लाख रुपियाँमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण भएको बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपियाँमा जडान गरेको हो । सोही निर्माण कम्पनीले सम्झौता अनुसार वैशाख मसान्तसम्ममा उक्त बेलिब्रिज निकाल्ने छ ।
हाल बेलिब्रिज जडान गरिएको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँ लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०७९ मङ्सिर १ मा कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो तर पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको छ ।
यस्तै खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको छ । उक्त अस्थायी रूपमा जडान गरिएको बेलिब्रिज पनि निकालेसँगै जेठ १ गतेबाट सिधा यातायात टुट्ने भएको हो ।



