Aamsanchar

मुसिकोटमा किशोरीलाई आत्मरक्षा तालिम

Author Image
बिहिवार, वैशाख २४, २०८३

गुल्मी-  सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका –४ कुर्घाको त्रिभुवन माद्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने ३० जना किशोरीलाई तालिम प्रदान गरिएको छ ।

किशोरीलाई ४५ दिने आत्मरक्षा र मानसिक स्वास्थ्य बनाउने विभिन्न १० वटा बिधिहरु सिकाइएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताउनुभयो । प्रशिक्षक–विनोद नेपाली र सहायक प्रशिक्षक–कृष्ण रानाले किशोरीलाई आपतकालीन अवस्थामा प्रतिरक्षा गर्ने तरिका बारेमा अभ्यास गराउनु भएको थियो ।

प्रदेश सरकारको उद्देश्य किशोरीहरुको क्षमता विकास र आत्मरक्षा सम्बन्धी कौशल सिकाइ रहेको डिभिजन कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । तालिमपछि किशोरीलाई प्रमाणपत्र प्रदान गर्दै मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले किशोरीहरु हरेक हिसाबले जोखिममा रहेकाले प्रतिरक्षा सिपले उनीहरुलाई अब्बल बनाउने बताउनुभयो ।

श्रेष्ठले जिल्लाभरका विद्यालयमध्ये मुसिकोटलाई सम्झेर कार्यक्रम समाबेश गर्ने सामाजिक विकास डिभिजन कार्यालयलाई आभार प्रकट गर्नुभयो । यो तालिमले किशोरीको आत्मरक्षा गर्ने क्षमता बढ्छ । किशोरीहरुले आफूमाथि हुने हिंसा, दुव्र्यवहार वा जोखिमपूर्ण अवस्थाबाट जोगिनका लागि आवश्यक सिप सिक्ने भएकाले आत्मविश्वास वृद्धि हुने र तालीमले ‘म आफैँलाई जोगाउन सक्छु’ भन्ने भावना विकास हुने प्रशिक्षक विनोद नेपालीले बताउनुभयो ।

आपतकालीन अवस्थामा कसरी शान्त रहने र प्रतिक्रिया दिने भन्ने बिषयमा व्यायाम, अभ्यास तथा तालिमका कारण शरीर तन्दुरुस्त हुने नेपालीले जानकारी दिनुभयो । कुन परिस्थिति जोखिमपूर्ण हुन सक्छ भन्ने पहिचान गर्न त्यसबाट बच्ने उपायहरु थाहा पाउने, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने र आफ्नो अधिकार, सुरक्षा तथा कानुनी जानकारी समेत तालिममा प्रदान गरिएको छ ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर