Aamsanchar

नेपाली चियामा भारतको कडाइ, आठ दिनदेखि निर्यात पूर्ण रूपमा ठप्प

Author Image
आइतवार, वैशाख २७, २०८३

काठमाडौं –  नेपालको उत्कृष्ट १० निर्यातित वस्तुमध्येको चिया निर्यात विगत आठ दिनदेखि पूर्ण रूपमा ठप्प छ । भारत सरकारले नेपाली चिया निर्यातमा ल्याब परीक्षणको व्यवस्थामा कडाइ गरेपछि प्रभावित भएको हो ।

भारत सरकारले नेपालबाट निर्यात हुने चियामा वैशाख १८ (मे १, २०२६) देखि लागु हुने गरी शतप्रतिशत ल्याब परीक्षण गर्ने नयाँ नियम ल्यायो । भारतको संसदीय समितिको सिफारिसका आधारमा अन्य मुलुकबाट आयात हुने चियाको निगरानी र नियन्त्रण गर्ने नीतिअनुसार कडाइ गरेको जनाएको छ ।

जसअनुरुप भारतले अबदेखि नेपालबाट जाने हरेक चियाको पटकैपिच्छे पूर्ण ल्याब परीक्षण अनिवार्य थालेको छ । जबकि यसअघि चियाको निकासी जोखिममा आधारित परीक्षण व्यवस्थाबमोजिम हुने गर्दथ्यो ।

भारतले गुणस्तर नभएको चियाको वितरण रोक्न र आयातमा कडाइ गर्न भन्दै यो प्रावधान ल्याएको दाबी गरे पनि यसले नेपाली व्यवसायीलाई ठूलो आर्थिक भार र मानसिक तनाव दिएको छ ।

भारतीय चिया बोर्डले आफ्नो संसदीय समितिको सिफारिसलाई कार्यान्वयन गर्दै यस्तो कडाइ गरेको बुझिएको छ । यसका कारण नेपाली चिया समयमै बजारमा पुग्न नसक्ने र निर्यात नै प्रभावित हुने देखिएको छ ।

भारतीय पक्षले थपेका यस्ता सर्त र प्रतिबन्धहरूले गर्दा नेपालको चिया निर्यातमा प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको मन्त्रालयका अधिकारीले स्वीकार गरेका छन् ।

चियामा गुणस्तर परीक्षणको बहानामा कडाइ गरेपछि नेपाली चिया व्यवसाय संकटमा पर्न थालेको व्यवसायीहरूको गुनासो बढेको छ ।

यसैक्रममा नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष सुरेशकुमार अग्रवाल विगत १० दिनदेखि भारतले प्रत्येक ट्रकको छुट्टाछुट्टै ल्याब परीक्षण अनिवार्य गरेपछि नेपाली चिया उत्पादक–व्यवसायीहरू ठूलो समस्यामा परेको गुनासो गरे ।

उनका अनुसार, यसअघि नेपाली चियाले पाउँदै आएको प्राथमिकता वा सहुलियतपूर्ण व्यवहारको सट्टा अहिले थप सर्त र कडाइ गरिएकाले निर्यात प्रक्रिया प्रभावित भएको छ ।

“नयाँ व्यवस्थाअनुसार, निर्यातका लागि लगिएका प्रत्येक ट्रकबाट नमुना संकलन गरी परीक्षणका लागि कोलकाता वा सिलिगुडीस्थित आधिकारिक ल्याबमा पठाउनुपर्ने हुन्छ । उक्त परीक्षणको रिपोर्ट आउन १० देखि १५ दिनसम्म लाग्छ । रिपोर्ट नआउन्जेलसम्म चिया बिक्री गर्न पाइँदैन । यो नयाँ प्रावधानले व्यवसायीहरूलाई आर्थिक भार थपेको छ,” अग्रवालले भने ।

परीक्षणको नतिजा ‘फेल’ भएमा सामान फिर्ता गर्नुपर्ने वा खेर जाने जोखिम समेत उत्तिकै भएको उनले सुनाए ।

मित्तल टी स्टेटका निर्देशक समेत रहेका अग्रवालका अनुसार, एउटा नमुना परीक्षणका लागि करिब ११ हजार ७५० रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

उनी लागत र जोखिमबारे गुनासो गर्दै भन्छन्, “भारतको पानी ट्यांकी नाकामा गोदामको व्यवस्था नहुँदा ट्रकहरू सडकमै उभिनुपर्ने बाध्यता छ । एक ट्रकले प्रतिदिन आठदेखि १० हजार रुपैयाँसम्म ढिलासुस्ती शुल्क लिने गर्छन्, जसले गर्दा १० दिनमा झन्डै एक लाख रुपैयाँसम्म अतिरिक्त लागत बढ्ने देखिन्छ ।”

 

सडकमा ट्रक रोकेर राख्दा वर्षाले चिया भिज्ने र चोरी हुने उच्च जोखिम रहेको व्यवसायीहरूको गुनासो छ । यदि कुनै व्यवसायीले चियालाई ‘बन्डेड वेयरहाउस’मा राख्ने गरी एउटा बन्ड पेपर साइन गरेर लैजान चाहेमा लैजान सक्ने व्यवस्था भए पनि रिपोर्ट नआएसम्म बिक्री वितरणमा भने रोक लगाइएको छ ।

“विभिन्न २० प्रकारका विषादी प्रयोग गरेको प्रयोगशालाबाट पुष्टि भए नेपालको चिया भारत समेत बिक्री भएको छैन । सबै सचेत बनौँ । कोही कसैले बगानमा विष प्रयोग नगरौँ,” भन्दै नेपाल टी एसोसियसनले पनि सरोकारवालालाई सुसूचित गरेको छ ।

यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनाल भारतले आफ्नो सरकारी प्रयोगशाला ‘फसाई’मा परीक्षण गरेर उत्तीर्ण भएपछि मात्रै चिया लैजान पाउने व्यवस्थाले नेपाली उत्पादन बिक्रीमा ठूलो असर परेको बताउँछन् ।

उनका अनुसार, यसअघि एकपटक गरिएको नमुना परीक्षणले १५ दिनसम्मका लागि काम गर्ने गरेकोमा, अहिले हरेक पटक निर्यात हुने चियाको छुट्टाछुट्टै नमुना परीक्षण गर्नुपर्ने नियम लगाइएको छ । जसले गर्दा चिया निर्यात प्रक्रियालाई खर्चिलो, झन्झटिलो र समय लाग्ने बनाएको छ ।

पहिलोपटकको ल्याब परीक्षणका लागि नेपाली करिब १८ हजार रुपैयाँ शुल्क लाग्ने गर्दछ । यदि, पहिलो पटकको परीक्षण सफल भएन र व्यवसायीले पुनः परीक्षणको माग गरेमा दोस्रो पटकको शुल्क बढाएर २८ हजार रुपैयाँ पुर्‍याइएको छ ।

यसअघिकै व्यवस्था गर्न नेपाल सरकारको पहल

यो नयाँ कडाइले निर्यातमा समस्या पर्न सक्ने भएकाले साविककै जोखिममा आधारित व्यवस्था कायम राख्न नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार, नेपाली चिया निर्यातमा अवरोधपछि भारततर्फ हुने चिया निर्यातमा समस्या देखिएको छ ।

“भारतले नेपाली चियाको शतप्रतिशत प्रयोगशाला परीक्षण गर्न थालेपछि निर्यात प्रक्रियामा कडाइ भएको छ । यसअघि नेपाली चियाले पाउँदै आएको प्राथमिकता र सहुलियतमा भारतले कडाइ गरेपछि निर्यातमा प्रत्यक्ष प्रभाव परेको छ । यस विषयमा मन्त्रालयको द्विपक्षीय महाशाखाले पहल गरिरहेको छ । ती पहलहरूपछि भारतीय पक्षबाट कस्तो प्रतिक्रिया आयो भन्नेबारे विस्तृत जानकारी आउन बाँकी छ,” प्रवक्ता सुवेदीले बाह्रखरीसँग भने ।

चालु आवको ९ महिनामा साढे ४२ अर्ब चिया निर्यात, भारतमा मात्रै एक अर्बमाथि

चालु आर्थिक वर्षको चैत्रसम्ममा कुल निर्यातमा उत्कृष्ट १० अन्तर्गत चिया एक हो । यस अवधिसम्ममा नेपाललबाट कुल ४२ अर्ब ५९ करोड ९१ लाख ७८ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ । जसअनुसार भारतमा मात्रै एक अर्ब दुई करोड ६३ लाख रुपैयाँबराबरको चिया निर्यात भएको छ । यो नेपालको कुल चिया निर्यातको झन्डै दुई प्रतिशत हो । कुनै बेला चियाको मुख्य गन्तव्य भारत भए पनि अहिले भने यसबाहेकका दर्जनौँ मुलुकमा पनि नेपाली चिया निर्यात हुँदै आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० हजार ७६० हेक्टर हाराहारीमा चिया खेती हुँदै आएको छ ।

उक्त चिया खेतीबाट करिब दुई करोड ६९ लाख ८३ हजार १७५ किलोग्राम चिया उत्पादन हुँदै आएको बोर्डले जनाएको छ । सरकारले पनि विशेषगरी नेपालको पूर्वी भेगमा झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्र घोषणा गरेको थियो ।

नेपालमा विशेषत तीन प्रजातिका चिया खेती गरिन्छ । आसामी, कम्बोडियाल र चिनियाँ प्रजातिको चियो उत्पादन हुन्छ ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर