
काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । साथै, सर्वोच्चले प्रसाईंको अनुसन्धान फाइल समेत सुनुवाइका दिन पेस गर्न आदेशमा भनेको छ ।

प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगञ्जबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटेलबाट पक्राउ गरी हिरासतमा राखेको छ ।



