
फिदिम- पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको हो । नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ ।
नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाले १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रिनहाउस टनेल, सात थान प्लास्टिक पोखरी, ४० थान नेप्स्याक स्प्रेयर, १ सय १२ थान चाफ कटर, १ सय ६७ थान काउ म्याट, सात थान मिल्क एनालाइजर, २१ थान डिप फ्रिज तथा ६६ थान पानी ट्याङ्की वितरण गरेको हो ।

नगरपालिकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो । कृषिलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यान्त्रिकीकरण अपरिहार्य भएकाले नगरपालिकाले प्रत्येक वर्ष यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।
नगरपालिकाले सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत ई–बिडिङमार्फत सामग्री खरिद गरी छनोट भएका कृषक तथा कृषक समूहलाई वितरण गरेको जनाएको छ । विशेषगरी मिनी टिलर, कम्बाइन राइस मिल, ग्रिनहाउस टनेल र काउ म्याटको माग बढी रहेको तथा ती सामग्री सबैभन्दा धेरै सङ्ख्यामा वितरण गरिएको काफ्लेको भनाइ छ ।
कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढेसँगै खेतबारीमा श्रमको अभाव कम हुने, उत्पादन लागत घट्ने र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ । दुग्ध उत्पादन तथा पशुपालनलाई थप व्यवस्थित बनाउन मिल्क एनालाइजर, काउ म्याट र डिप फ्रिजजस्ता सामग्री पनि वितरण गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि तीन करोड रुपियाँभन्दा बढी मूल्यका कृषि औजार तथा उपकरण किसानलाई उपलब्ध गराएको थियो । निरन्तरको लगानीले कृषिलाई परम्परागत अभ्यासबाट व्यवसायिक र प्रविधिमैत्री बनाउने दिशामा सकारात्मक परिणाम देखिन थालेको किसानहरूको प्रतिक्रिया छ ।


