Aamsanchar

दमकमा रथयात्राको तयारी

Author Image
बिहिवार, साउन १९, २०७४

दमक।

झापाको दमकमा श्रीकृष्ण रथयात्राको तयारी गरिएको छ । रथयात्रालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति बनाएर काम द्रुतगतिमा भइरहेको रथयात्रा मूल समारोह समितिका सचिव प्रेमप्रसाद भट्टराईले बताए । साउन ३० गते कृष्णाष्टमी मनाइने र ३१ गते रथयात्रा गराइने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए । उनले दमकका लागि रथयात्रा गौरव बन्ने बताए ।
विगतमा जस्तो रथमा समस्या नआउने र करिब १० लाखको लागतमा बाहिरबाट कालिगढ ल्याएर यो वर्ष रथ निर्माण भएको रथ निर्माण उपसमितिका संयोजक रोहित आचार्यले बताए । साढे १८ फूट लम्बाइ रहेको रथको चक्का फलामको र जता पनि घुम्ने हाइड्रोलिक रहेको उनले जानकारी दिए ।
करिब २५ देखि ३० हजार भक्तजनहरु रथयात्रामा सहभागी हुने अनुमान रहेको मूल आयोजक समितिका संयोजक मानबहादुर बुढाथोकीले बताएका छन् । उनका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नेदेखि लिएर तारको ब्यवस्थापन गर्नेसम्मका सबै तयारीहरु पूरा भएका छन् । सरोकारवाला निकाय तथा ब्यक्तिहरुसँग बारम्बार दैनिकजसो छलफल भइरहेको छ । दमकमा रथयात्राको संस्कार शुरुवात गर्नका लागि ब्यवस्थित गरेर जनसागर उतार्ने लक्ष्य रहेको बुढाथोकीको भनाइ रहेको छ ।
सुरक्षा तथा स्वयम्सेवक परिचालनको जिम्मा घनेन्द्र सुब्बालाई र प्रचारप्रसारको जिम्मा पं. चक्रपाणि गौतमलाई दिएको बताइएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर