Aamsanchar

डीभी बन्द हुँदै, अमेरिकाजाने नेपालीको सपना सपनामै सिमित

Author Image
बिहिवार, साउन १९, २०७४

अमेरिकाले अब डीभी लटरी प्रणाली बन्द गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याउन लगेको नयाँ आप्रवास नीतिमा लटरी प्रणाली बन्द गर्ने उल्लेख छ । अमेरीकामा अब स्किल हुने व्यक्ति मात्रै काम गर्न सक्ने ट्रम्पको भनाइ छ । ट्रम्पले नयाँ आप्रवास नीति घोषणा गर्दै यस्तो नीति ल्याउन लागेको उल्लेख गरेका हुन् । ट्रम्पले ल्याएको आप्रवास सम्बन्धी प्रस्ताव कंग्रेस समक्ष प्रस्तुत हुने र त्याहाँबाट पारित भए डीभी लटरी सदाका लागि बन्द हुने छ ।

अहिले डीभी भरेर अमेरीकामा बार्षिक रुपमा ५० हजार भन्दा बढि विभिन्न मुलुकका आप्रबासी भित्रिने गरेका छन् । यो विधेयक पारित भए नेपालीले समेत पाइरहेको डिभी कार्यक्रम बन्द हुनेछ । नेपाल बाट पनि बर्षेनि १ हजार जति डीभी चिट्ठा परेर अमेरिका पुुग्ने गरेको तथ्यांक छ । अमेरिकाको सपना देख्दै डीभी चिट्ठा भर्न विभिन्न साइबर क्याफे र कम्प्युटर सेन्टरमा बर्षेनि हज्जारौँ नेपालीको भिड लाग्ने गर्दथ्यो । प्लस टु उतीर्ण भएकाले चिट्ठा भर्न पाउने भएकाले दक्ष अदक्ष सबैले चिट्ठा भरेर जाने मौका कुरेर बस्ने गर्दथे । अब अमेरिकाले नीति परिवर्तन गर्दै दक्ष कामदारलाई मात्रै भित्र्याउने नीति अंगिकार गर्न लागेको हो ।

यस नीतिअन्तर्गत मेरिटका आधारमा मात्रै मानिसहरूले अमेरिकाको रेसिडेन्सी कार्ड पाउनेछन् । अंग्रेजी राम्रो बोल्ने, पढाइ राम्रो भएको र राम्रो जागिर खान सक्ने व्यक्तिलाई मात्र अमेरिकामा बसोवासको अवसर दिइनेछ । ट्रम्पले नयाँ नीति घोषणा गर्दै यसका कारण गरीबी घट्ने बताए । यो ऐनअन्तर्गत अमेरिकामा ग्रीन कार्ड लिन सजिलो हुने समेत उनको भनाइ छ ।

राम्रो अंग्रेजी बोल्न जान्ने र सरकारको मुख नताकी आफ्नो खर्च आफैं उठाउनसक्ने व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए । यस्ता व्यक्तिको सीपका कारण अमेरिकी अर्थतन्त्र मजबूत हुने उनको विश्वास छ । यो ऐनअन्तर्गत अमेरिका जाने व्यक्तिले सजिलै पैसा कमाउने र उनीहरूमाथि कुनै भेदभाव नहुने समेत ट्रम्पले बताए । अमेरिकाले सन् सन १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि सन् १९९५ देखि डिभी कार्यक्रम लगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोबास प्रदान गर्दै आएको छ ।

दश वर्षयता अमेरिकाले करिव ५ लाख आप्रवासिलाई ग्रीनकार्ड दिएको छ । त्यसले गर्दा अमेरिकीहरुको रोजागारमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै आप्रवासिलाई ग्रीनकार्ड दिने संख्या आधा घटाउनु पर्ने तथा आप्रवासी दक्षताका आधारमा ग्रीनकार्ड दिने व्यवस्था गरिनुपर्ने माग पहिले देखि नै उठ्दै आएकोछ । विधेयकले सन् २०१८ को डिभी कार्यक्रमलाई असर पार्छ पार्दैन स्पष्ट भइसकेको छैन । अध्यागमनविद्हरुले भने यो कदमलाई ग्रीन कार्ड प्राप्तिमाथि थप बन्देज लगाउने ट्रम्प प्रशासनको नयाँ रणनीतिको रुपमा व्याख्या गरेका छन् ।

यस अघि पनि पटक पटक डिभी चिट्ठा खारेज गर्नुपर्ने आवाज उठेको थियो । एक पटक तल्लो सदनले डिभी कार्यक्रम बन्द गर्ने विधेयकलाई पारित समेत गरेको थियो । तर सिनेटमा पेश हुनु अगाडि नै कंग्रेसको समितिले सो प्रस्ताव असफल पारेको थियो । त्यतिबेला समितिमा मतदान हुँदा डिभी राख्नुपर्छ भन्ने पक्षमा बहुमत २ सय ४५ सदस्य उभिएका थिए । १ सय ३९ जनाले डिभी हटाउन मतदान गरेका थिए । बहुमतले पारजित भएपछि सो प्रस्ताव निस्क्रिय भएको थियो ।

यस पटक भने स्थिति फरक रहेको अमेरिकी अधिकारीहरु बताउँछन । रिपब्लिकनहरु हाउस अफ रिप्रेजेन्जिट र सिनेट दुवैमा बहुमतमा छन् । ट्रम्प प्रशासनले आप्रवासीविरुद्ध कडा रवैया अपनाउँदै आएको सन्दर्भमा डिभी खारेजीको लागि विधेयक दर्ता भए यो पारित हुने सम्भावना देखिएको अमेरिकी अध्यागमन अधिकारीहरु बताउँछन् । एजेन्सीको सहयोगमा ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर