Aamsanchar

कागती बेचेर ५ वर्षमा करोडपति

Author Image
बिहिवार, भदौ १५, २०७४

राजन ठटाल/ सुरेन्द्र भण्डारी,
मागुरमाडी।

चितवनको सौराहमा रहेको ‘रेञ्ज फरेस्ट पार्कल्याण्ड’, चितवनकै ‘चितवन फरेस्ट रिसोर्ट’ लगायत नेपालका दर्जनौं ठाउँमा पार्क र रिसोर्ट बनाउँदै आएका भारत बिहारका लालुप्रसाद यादव त्यतिबेला दंग भए जतिबेला झापाको मेचीनगरस्थित मागुरमाडी पुगे ।
मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रतीले बनाएको बगैंचा देखेपछि उनी दंग मात्र परेनन्, अहिले उनी त्यहीँ काम सिक्दैछन् । नेपाल र भारतका विभिन्न ठाउँमा बगैंचा र पार्क बनाउँदै दशौं वर्षदेखि ख्याति कमाएका उनी उप्रेतीको पार्क देखेर चकित बनेसँगै अहिले उप्रेतीको प्रविधि सिक्न दिनरात श्रम गरिरहेका छन् । उनी एक सातादेखि उप्रेतीको फलफूल बगैंचामा नयाँ–नयाँ प्रविधि सिक्न व्यस्त छन् ।
नेपालका सबैजसो जिल्लामा पुगेर त्यहाँको बस्तुगतस्थिति देखेका यादव अहिले उप्रेतीको फलफूल बगैंचामा लोभिएर अझैं एक महिनासम्म लगाएर नयाँ प्रविधि सिक्ने बताउँछन् । उनी भन्छन्– मैले नेपाल र भारतका धेरै ठाउँमा पार्क र बगैंचाको डिजाइन गरेँ, धेरे ठाउँमा आफैं बसेर बनाएँ, तर यहाँको जस्तो आधुनिक र व्यवस्थित बगैंचा अन्त नदेखेकाले म यहाँ काम सिक्न बसेको हँु ।
नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ विगाह जमिन मध्ये एक विगाहमा फलफूल बगंैचा लगाएर वार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्न थालेपछि उनी नेपालमा मात्र होइन भारतमा समेत परिचित बनेका छन् । जसका कारण उनको बगंैचा हेर्न अहिले विभिन्न ठाउँबाट कृषि कर्म गर्ने मानिस दिनहुँ हुल बाँधेर आउने गरेका छन् ।
विहारका यादव पनि उप्रेतीको बगैंचा हेर्न आएका थिए । विरुवा उत्पादनको शैली र उन्नत जातका विरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिँने उदाहरण प्रस्तुत गरेका कारण उप्रेती अहिले मेहनती कृषकका रुपमा परिचत छन् । उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्वद्र्धन र जैविक विविधतामा पु¥याएको योगदान स्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । २०६९ सालमा डेढ लाख रुपैयाँले कृषि कर्म शुरु गरेका उप्रेती कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोवार करोडमाथि पु¥याएको बताउँछन् । उनले ५ कठ्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवा लगाएका छन् । उनी विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर विक्री समेत गर्छन् ।
डेढ विगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गरेका उप्रेतीले अहिले वार्षिक डेढदेखि दुई लाख कागतीका दाना बिक्री गर्छन् । उनको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उनले सुनाए । कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामकरण गरेका छन् ।
वार्षिक २५देखि ३५ हजार उत्पादित विरुवा विक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन् । उनका वगंैचामा तीन सय कागतीका वोट छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन् । कलमी गरिएका र दल राखेर उमारेका कागतीका प्रतिविरुवा ५०देखि ८५ रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनका बुवा लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । उनले भने– छोराले मान्छे हेरेर विरुवाको दाम लिन्छ, गरीव दुःखीलाई त्यसै विरुवा बाँड्छ भने व्यवसायिक कागती खेती गर्न इच्छुकलाई ५० देखि ८५ रुपैयाँसम्ममा विरुवा विक्री गर्दै आएको छ ।’
होटल म्यानेजमेन्ट अध्ययन गर्दागर्दै उप्रेती सिप नसिकी हतार गर्दै कतार पुगेका थिए । उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहेका छन् । उनी भन्छन्– हतार गर्दै कतार पुगेको थिएँ, नौ वर्ष विदेश वस्ता जति कमाएँ त्यो भन्दा दशौं गुणा बढी त मैले यहाँ दुई वर्ष नभई कमाएको छु ।
कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिक लगायतका विरुवा उत्पादन उनको अर्काे आयस्रोतको बाटो हो । उनी उन्नत जातका तरकारीका विरुवा पनि उत्पादन गर्दै विक्री वितरण गर्छन् । त्यस्तै गड्यौँले मल विक्रीवाट पनि उनको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उनले छुट्टै मल घर बनाएका छन् । उनले आफ्नो कृषि फर्म मार्फत धेरैलाई रोजगारी पनि दिएका छन् । हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु– उप्रेतीले भने– ‘माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो, साँच्चै माटोमा सुन फल्दो रहेछ’– उनले पाकेका कागतीको दाना देखाउँदै भने– ‘सुनभन्दा कम छैन, यो कागतीको दाना ।’
डाँडामा लगेर जरा रोपेको छ यसले, वुवाआमालाई भोकै मार्ने भो भनेर कुरा सुनाउनेहरु पनि अहिले मसँगै कागती खेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागती खेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु– उप्रेतीले भने– कतिलाई त कागतीका विरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।
मेरो प्रगतिमा छिमेकीको पनि उत्तिकै साथ रहेको छ– उनले भने– छिमेकीले साथ नदिएको भए म यहाँसम्म पुग्ने थिइनँ ।

मलाई जसले निरन्तर चिढ्यायो उसैलाई गरेर देखाउनुपर्छ भन्ने भावना जागृत भएकाले मैले मेहनत गर्न छाडिनँ– उनले भने – विदेशवाट कमाएर ल्याएको पैसाले फुर्ति देखाउँछ भन्नेहरु अहिले भाइले ग¥यो, बारीमा सुन फलायो भनेर प्रशंसा गर्दै हिँड्दा खुशी लाग्छ । उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि खपत हुने गरेको छ । उनले आफैं धुलावारीमा डीएण्डडी एग्रो फरेस्टी सञ्चालन गरेका छन् । सो फरेस्टीमा श्रीमती दीक्षा उप्रेतीले उत्पादित सामग्री विक्री वितरण गर्दै आएकी छिन् ।
उनको विशेषता भनेको बिक्री गरेका विरुवाले उत्पादन दिन न थालुनञ्जेलसम्म हेरचाह गर्नु हो । विरुवा विक्री गरेपछि मात्र हुँदैन उनले भने– मैले विक्री गरेका कुनै पनि विरुवा मरे भने म अर्काे बिरुवा निःशुल्क दिन्छु । परम्परागत खेतीलाई रुपान्तरण गर्दै आधुनिक र व्यवसायिक खेतीमा जोड दिने उप्रेतीले अरुले पनि यास्तै व्यवसाय अंगाले जोखिममा ज्यान र काँधमा ऋण बोकेर रोजगारीको खोजीमा विदेशिनु नपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)