बिर्तामोड।
मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले गत असार मसान्तसम्मको एक बर्षको अवधिमा १६ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
एनएमसीले सम्भावित नोक्सानी व्यवस्थापछि १४ करोड ३० लाख ५५ हजार दुई सय ६९ रुपैयाँ खुद नाफा आर्जन गरेको विहीवार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । २५औं बार्षिक साधारणसभाको सन्दर्भमा संस्थाको प्रगति बारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा एनएमसीले बितेको बर्ष ४ करोड ४० लाख रुपैयाँ सरकारलाई कर भुक्तानी गरेको समेत बताइयो ।
भदौ २४ गते शनिवार एनएमसीको साधारणसभा धुलावारीमा हुँदैछ । ४२ हजार ९२ जना एनएमसीका शेयर सदस्य मध्ये ५१ प्रतिशत महिला रहेको अध्यक्ष उप्रेतीले बताए । उनका अनुसार वासलात ५ अर्बमाथि, निक्षेप ३ अर्ब ७८ करोड, कर्जा लगानी ४ अर्ब ३६ करोड र विभिन्न कोषमा ३४ करोड ३८ लाख ६० हजार ८ सय ३८ रुपैयाँ रकम रहेको छ ।
संस्थामा १० हजार ५ सय ९८ जना सदस्यले कर्जा उपभोग गरिरहेको, ५ जना सदस्यको २९ लाख ५४ हजार रुपैयाँको ऋणको भाखा नाघेको र ३६ जनाले व्याज बुझाउन बाँकी रहेको संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए । समयको गतिसँगै एनएमसीको सेवालाई आधुनिक र प्रभावकारी बनाउन लागिएको बताउँदै अध्यक्ष उप्रेतीले भने– ‘यसैबर्षबाट एसएमएस सर्भिस, मोवाइल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य छ । सदस्यको सुविधाका लागि विद्युत् र पानीको महशुल भुक्तानी लगायतका युटिलिटी भुक्तानीको सेवा शुरु गरेका छौं’– उप्रेतीले भने ।
पत्रकार भेटघाटमा एनएमसी डेरीको प्रगतिबारे पनि जानकारी गराइएको थियो । एनएमसी डेरीले दैनिक १० हजार लिटरभन्दा बढी दूधको कारोबार गरिरहेको जनाइएको छ । अहिलेसम्म २३ वटा चिस्यान केन्द्रमार्फत ३ हजार कृषकको दूध संकलन भइरहेको, ५२ वटा एकल भित्री केन्द्र एनएमसी डेरी पार्लर र दुई सयभन्दा बढी खुद्रा व्यापारीबाट झापा, मोरङ, सुनसरीमा बजार विस्तार भएको बताइयो ।
एनएमसीले सदस्यहरुको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र नयाँ कार्यक्रम समेत थप गरिएको जनाइएको छ । सदस्य दम्पत्तिबाट जन्मिएका नवजात शिशुलाई नगद र खुत्रुके उपहार, सुत्केरी सदस्यलाई १ केजी घ्यू उपहार, सदस्यको निधनमा परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने नीति लिइएको अध्यक्ष उप्रेतीले बताए ।
त्यस्तै सदस्यको आँखाको उपचारमा विशेष छुट र एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गराउने नयाँ कार्यक्रम ल्याइएको पनि बताइएको छ । कर्मचारीको तलब २५ प्रतिशत बृद्धि गर्ने र दुई महिनाको तलब बराबर बोनस बापतको रकम उपलब्ध गराउने समेत संस्थाले साधारणसभा समक्ष प्रस्ताव गरेको छ । एनएमसीले शेयर सदस्यलाई १५ प्रतिशत लाभांश उपलब्ध गराउने प्रस्ताव समेत गरेको छ ।