सुरुङ्गा,
कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभा सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाका मेयर एवम् सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभा अध्यक्ष उक्त वन समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेलले विगतको समीक्षा र भावी कार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुुत गरेका थिए ।
प्रमुख अतिथि पोखरेलले कनकाई नगरमा रहेका प्रजापति, जामुनाबारी, सुकेडाँगी र कनकाई सामुदायिक वनहरुलाई एकीकृत रुपमा पर्या–पर्यटनको गन्तव्यको रुपमा स्थानीय जनताको समृद्धिसँग गाँसेर दीर्घकालीन सोचका साथ दीगो रुपमा विकास गर्ने कार्ययोजना अघि बढाइने बताए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढुंगेलले नर्सरी निर्माण तथा वृक्षरोपण, अग्र्यानिक खेतीको विकास, कागती खेती, पर्यटन विकास, विशेष सिञ्चाइ, गरिबी न्यूनीकरण, जैविक विषादि उत्पादन लगायतका क्षेत्रमा वन समूहले काम गरिरहेको र दीगो विकासको अवधारणा अनुरुप ल्याइएका उक्त कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा मेयर पोखरेल, वार्ड नं. २ का वार्ड अध्यक्ष परशुराम गिरी, वार्ड नं. २ का वार्ड सदस्यहरु घनश्याम मैनाली, बलराम राई, नरादेवी मगर र राधादेवी सेञ्चुरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा इलाका वन कार्यालय दहीझोडाका प्रतिनिधि कुमार कार्की, जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक भोलाप्रसाद ढुंगाना, सामुदायिक वन उपभोक्ता महासंघ दहीझोडा रेञ्जपोष्टका प्रतिनिधि कुमार पौडेल, कनकाई सामुदायिक वन समूहका प्रतिनिधि श्रीप्रसाद खरेल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा धनुषकोटीधाम समितिका अध्यक्ष भक्तबहादुर पौडेल, जामुनाबारी सामुदायिक वन निर्वाचन समिति संयोजक रूद्रबहादुर बोहोरा, सुकेडाँगी वन समूहका संस्थापक अध्यक्ष तोयानाथ अधिकारी, वार्ड अध्यक्ष परशुराम गिरी लगायतले बोलेका थिए ।
उपाध्यक्ष कमलप्रसाद ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवेन्द्र रिसालले गरेका थिए ।