झापा ।
झापाको गौरीगञ्ज गाँउपालिका क्षेत्रबाट भन्सार छलेर नेपाल भित्राइएको ५२ हजार मुल्य बराबर सुर्ती बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले १ सय ७६ केजी सुर्ती बरामद गरेको हो । जसको बजार मुल्य ५२ हजार ८ सय रहेको सिमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।
गौरीगञ्ज बजारबाट यात्रुबाहक बसमा हालेर दमकतर्फ लगिरहेको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी सवारीसाधन चेकजाच गर्दा ८ बोरा सुर्ती फेला पारेको थियो । बरामद गरेको सुर्तीलाई मंगलबार मेची भन्सार कार्यालय काकरभिटटा बुझाइसकेको छ ।
सशस्त्र प्रहरीका अनुसार कुञ्जीबारी नाकाबाट स्थानीय कारोबारी विनोद साहले अवैध रुपमा सुर्तीको तस्करी गर्दै आइरहेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको थियो ।
भारतको विहार राज्य सिमासंग जोडिएको गौरीगञ्जबाट पछिल्लो समयमा सुर्ती लगायतका अवैध कारोबार फस्टाउन थालेपछि सिमा सुरक्षा कार्यालयले सादा पोशाकमा प्रहरी खटाउन थालेको छ । सो क्षेत्रमा सशस्त्र प्रहरीको वेस क्याप रहेको छ ।