बिर्तामोड।
कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४, जुरोपानी सेवाकेन्द्रको आयोजनामा छ महिने सिलाइकटाई तालिम सम्पन्न भएको छ ।
संस्थाको सदस्य सिप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जुरोपानी क्षेत्रमा रहेका संस्थाका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा सांसद दीपक कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य पूर्ण कन्दङ्वाले स्वागत गरेका थिए ।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहित साह, उपप्रमुख गीता भेटवाल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, गौरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल, वडा सदस्यहरु नारायण विमली, यसोदा दाहाल, तारा मोते, जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास शिवाकोटी, ग्वालडुब्बा बजार समिति अध्यक्ष बलबहादुर तामाङ, ग्वालडुब्बा मन्दिर समिति अध्यक्ष चुडामणि पोखरेल, गौरादह वाणिज्य संघ अध्यक्ष अरुण साह, प्रहरी चौकी प्रमुख सूर्यनारायण यादव, ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रव गौतम, साना किसान सहकारी संस्थाका अध्यक्ष नवराज लुइँटेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा तालिमका सहभागी १७ जना र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रमकाबीच संस्थाले दैवी प्रकोप राहत कोष निर्माणका लागि गौरादह नगरपालिकाका मेयर रोहित साह र गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठलाई संस्थाका तर्फबाट २५ हजार रुपैयाँ अध्यक्ष टसबहादुर श्रेष्ठले प्रदान गरेका थिए ।
त्यस्तै सोही कार्यक्रममा संस्थाको कर्णाली सदस्य उपचार कोष कार्यक्रममा आबद्ध भई १ सय रुपैयाँ तिरेर सदस्यता लिने सदस्यहरुलाई उपचार सुविधा अन्तर्गत विभिन्न निर्देशिकाले निर्देशित गरेको रोगहरुको उपचारार्थ कोषबाट रकम समेत प्रदान गरिएको थियो ।
यसरी रकम प्राप्त गर्नेहरुमा सकुन्ती ऋषिदेवलाई पक्षघातको उपचारार्थ २० हजार रुपैयाँ, सदस्य सरिता अधिकारीलाई पित्तथैलीको उपचारार्थ १० हजार रुपैयाँ, सदस्य पार्वती बस्नेत पराजुलीलाई श्रीमान्को एपेन्डीसाइडको उपचारार्थ ४ हजार रुपैयाँ र संस्थाकी सदस्य सन्ध्या सिंखडालाई श्रीमान् नरहरी सिंखडाको फिस्टुलाको उपचारार्थ २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, गौरादह नगरपालिकाका प्रमुख साह, उपप्रमुख भेटवाल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, गौरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष खरेल, जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवाकोटी, ग्वालडुब्बा बजार समिति अध्यक्ष तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।