Aamsanchar

झापा ११ले ‘ए डिभिजन’ क्लबको मान्यता पायो

Author Image
शुक्रवार, भदौ ३०, २०७४

बिर्तामोड।

रमपम झापा ११ले ‘ए डिभिजन’ क्लबको मान्यता पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रवार बसेको बैठकले रमपम झापा ११लाई ए डिभिजनको मान्यता प्रदान गरेको हो ।
छोटो समयमा उत्कृष्ट खेल खेल्दै झापा ११ले ए डिभिजनको मान्यता पाएको हो । झापा ११सँगै मोफसलका अन्य तीन वटा क्लबले पनि ए डिभिजनको मान्यता पाएका छन् । मोरङ, रुपन्देही र सुदूरपश्चिम फुटबल क्लबले ए डिभिजनको मान्यता पाएका हुन् ।
योसँगै ए डिभिजनको मान्यता पाउने क्लब संख्या १६ पुगेको छ । यसअघि उपत्यकाका ‘ए’ डिभिजन क्लबमा थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब रहेका छन् ।
एन्फाले ए डिभिजनको लिग पनि होम एण्ड अवे पद्धतिमा खेल्ने निर्णय गरेको छ । ए डिभिजनमा रहेका सबै क्लब उपत्यकामा सीमित थिए । तर, अब ए डिभिजनको मान्यता पाउने क्लब मोफसलका समेत भएका छन् । एन्फाले मंसीरको दोस्रो साताबाट लिग आयोजना गर्ने समेत निर्णय गरिसकेको छ । झापा ११ले ए डिभिजनको मान्यता पाएसँगै झापाका खेलप्रेमी उत्साहित बनेका छन् ।
रमपम झापा ११का अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङले झापा ११ले ए डिभिजनको मान्यता पाउनु भनेको खेल क्षेत्रमा झापाले नयाँ इतिहास रचे बराबर हो । उनले ए डिभिजनको मान्यता पाउने श्रेय आफूमा मात्र नभई आम झापावासी खेलप्रेमीहरुको भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर