युद्धबहादुर बोहोरा/इलाम।
जातीय पेशाका रूपमा गन्धर्व जातिले सारङ्गी बजाउने चलन पहिलेदेखि नै नेपालमा चलिआएको भए पनि अहिले उनीहरुको पेसा संकटमा परेको छ ।
आधुनिक बाजाले आफ्नो पुर्खौली पेशाको अस्तित्व संकटमा परेको बताउँछन् पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सल्लाहकार डम्बर गन्धर्व ।
आफूहरुको सारङ्गी ज्यालादारीको प्रमुख साधन भएको र घुमेर जम्मा गरेको रकम नै आफूहरुको मुख्य आयस्रोत रहेको उनी बताउँछन् । त्यही आयस्रोतबाट पारिवारिक खर्च चलाउँदै आए पनि अहिले आधुनिक बाजाले गर्दा पेसा संकटमा परेको उनी बताउँछन् ।
पहिला गाउँघरका कुना–कुनामा गन्धर्व घुम्ने गरे पनि पछिल्लो समय गन्धर्वहरु शहरमुखी भएका छन् । तिहारमा देउसीभैलो खेल्न टाढा–टाढाबाट गन्धर्व अर्थात् गाइनेहरु आउँदा रमाइलो हुने गरेको बताउँछन् इलाम, फाकफोकथुम–१ का ७८ वर्षीय भिमप्रसाद भट्टराई ।
२०३२ सालमा भोजपुर जरायोटारबाट बसाइँ सरी झापाको कचनकवल गाउँपालिका–२ मा आएका गन्धर्वमध्ये भुपाल र डम्बर गन्धर्व ११ बर्षको उमेरदेखि आफ्ना हजुरबुबा सुरेश गन्धर्वसँग सारङ्गी बजाउँदै हिंडेको अनुभव सुनाउँछन् । ‘पहिला हामीलाई धेरै ठाउँमा सत्कार र सम्मान हुन्थ्यो ।
तर, आजभोलि त्यस्तो कमै पाइन्छ ।’ पातलो बस्तीमा घुमफिर गर्दा आफ्नो दैनिक ज्याला नउठ्ने हुँदा आफूहरु बाध्यताले बाक्लो बस्ती र बजार क्षेत्रमा भित्रनु परेको गन्धर्वहरुको भनाइ छ । मौसम राम्रो हुँदा १५ देखि २० हजार सम्म मासिक कमाइ हुने उनीहरु बताउँछन् ।
काठमाडौं, पोखरा, भारतको सिक्किम, दार्जिलिङ र शिलगडीमा समेत घुम्ने गरेको उनीहरु बताउँछन् । उनीहरु अहिले दशैं खर्च जुटाउन इलाम र पाँचथरका घुर्बिसे पञ्चमी, राँके, रवि बजार साथै पाँचथरको यासोक, चिसापानी, फिदिम नगरपालिका लगायतका क्षेत्रतिर घुम्ने क्रममा छन् ।
धेरैजसो बजारबाट सन्तोषजनक रकम पाएकोमा खुशी व्यक्त गर्दछ्न् । जम्मा भएको केही रकम गन्धर्व सांस्कृतिक उत्थान समाजमा राखिने उनीहरुको भनाइ छ । बजारमा डुल्न अहिले भ्याइ–नभ्याई छ । दशैं–तिहारमा झनै चटारो हुने उनीहरु बताउँछन् ।