दमक।
नेपालीहरुका प्रमुख चाडपर्व दशैं, तिहार तथा छैठ पर्व नजिकिए पनि ब्यापार–व्यवसाय केही नबढेको भन्दै झापाका ब्यवसायीहरु चिन्तित भएका छन् । झापाका प्रमुख बजारहरु सुनासान रहेको तर खुला सीमानाका कारण सीमाक्षेत्रमा रहेका भारतीय बजारहरुमा भने भीड बढेपछि उनीहरु चिन्तित भएका हुन् । चाडपर्वका लागि भनेर ब्यवसायीहरुले लाखांैको सामान पसलमा राखेको भए पनि बिक्री नभएको ब्यापारीहरुको गुनासो रहेको छ ।
प्रचण्ड गर्मीका कारण बजारमा आवत–जावत नै कम भएको र गत साउनको अन्तिम साता आएको बाढीका कारण झापाको आधाभन्दा बढी जनसंख्या प्रभावित भएकोले यस बर्ष ब्यापारमा असर गरेको उनीहरु बताउँछन् ।
रेडिमेट कपडाका ब्यवसायी तथा दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईका अनुसार अहिले ब्यापार ब्यवसाय नबढ्दा चाडपर्व लक्षित गरेर गरिएको लगानी डुब्ने खतरा बढेको छ । विगतका बर्षहरुमा यो समयमा दशंैका लागि ल्याइएका आधा कपडाहरु बिक्री भइसकेको हुन्थ्यो । अहिले सबै कपडा ब्यवसायीहरुको अवस्था उस्तै रहेको उनले बताए ।
किराना पसल तथा थोक बिक्रेताहरुले पनि यस वर्ष चाडपर्वमा ब्यापार नहुने अवस्था आएको गुनासो गर्न थालेका छन् । दैनिक उपभोग्य सामग्री तेल, दाल, चिनी, चना–मटर लगायतका खाद्य सामग्रीहरुको मूल्य आकाशिएपछि ग्राहक भड्केर आउन छाडेपछि ब्यापारीहरु चिन्तित भएका हुन् ।
दैनिक खाद्य सामग्री नेपालका पसलहरुमा भन्दा नजिक रहेको भारतीय बजारहरुमा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्ने भएकाले भारतीय बजारमा जानेको भीड बढेको हो । प्रहरीले घरका लागि उपभोग गर्ने दैनिक उपभोग्य सामग्री ल्याउँदा खासै कडाइ नगर्ने भएपछि सीमावर्ती क्षेत्र नजिक रहेका र टाढा भएकाहरु समेत समय मिलाएर भारतबाट नै सामान ल्याउन थालेपछि जिल्लाका दमक, बिर्तामोड, सुरुङ्गा, गौरादह, गौरीगञ्ज, काँकरभिट्टा लगायतका प्रमुख बजारहरु सुनासान रहेका छन् । ५ किलोमिटरदेखि ४० किलोमिटरसम्मको दुरीमा रहेका भारतीय बजारहरुमा सस्तोमा आवश्यक दैनिक उपभोग्य सामग्री पाउने भएपछि यहाँका बजारहरु यसरी सुनसान भएका हुन् ।
झापा जिल्लाका उपभोक्ता तथा ग्राहकहरु झापाबाट नजिकपर्ने पानीट्यांकी, फत्तेपुर, शिलगढी लगायतका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री लिन जाने गरेका छन् । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार अबैध रुपमा आउने गरेका सामग्रीहरुका कारण पनि कर तिरेर ब्यवसाय गरिरहेका ब्यापारीहरु भने टाट पल्टन सक्ने अवस्था आउन लागेको छ ।