

चारपाने, ४ असोज ।

झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया दशमीको अवसर पारेर दूधेको खेलमैदानमा आयोजित ३ लाख १ हजार पुरस्कार राशिको प्रतियोगिताको उद्घाटन कृषि राज्यमन्त्री सरिता प्रसाईंले गरिन् ।




प्रतियोगिताको पहिलो दिनको खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । आयोजक दुधे युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको हो । जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको छ ।

खेलको २४ औँ मिनेटमा चर्च ब्वाइजका अरुण बिष्टले गोलको खाता खोल्दै १–० को अग्रता दिलाए । त्यसको ७ मिनेटपछि चर्च ब्वाइजले उपहारस्वरुप थप एक गोल पायो । आयोजक टोली दुधे युथ क्लबका तर्फबाट आत्मघाती गोल भएपछि पहिलो हाफमा चर्च ब्वाइज २–० गोलअन्तरले अगाडि रहेको थियो ।

दोस्रो हाफमा आयोजक टोली सम्हालिएर खेल्ने प्रयास गरे पनि रक्षात्मक खेलसम्म खेल्न सकेन । दोस्रो हाफको २१औँ मिनेटमा भुवन लिम्बूले एक गोल थप्दै चर्च ब्वाइजको स्कोर ३–० पु¥याए ।
खेलको सुरुवातदेखि नै चर्च ब्वाइजसामु आयोजक टोली कमजोर देखिएको थियो । यद्यपि, आयोजक टोलीले पाएका केही अवसरहरु सदुपयोग गर्न सकेन । वर्षातका कारण हिलाम्मे बनेको खेल मैदानमा खेलाडीले निकै कष्टका साथ ९० मिनेट बिताएका थिए । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका अरुण श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

बिहीबारको खेल घरेलु टोली झापा–११ र हिमालयन शेर्पाबीच हुनेछ । प्रतियोगितामा दुई विभागीयसहित ६ वटा ए डिभिजन फुटबल टिमले सहभागिता जनाएको आयोजक दुधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्राले बताए । थोप्राका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, रुपन्देही–११, चर्च ब्वाइज काठमाण्डौँ, हिमालयन शेर्पा, मोरङ–११, झापा ११ र आयोजक दुधे युथ क्लबले सहभागिता जनाएका हुन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्ले बताए ।प्रतियोगिता सम्पन्न गर्न आयोजकले ३६ लाख रुपैयाँ बराबरको आम्दानी हुने अनुमानित विवरण सार्वजनिक गरेको छ । आयोजकले यस प्रतियोगिताबाट ११ लाख ६५ हजार रुपैयाँ बचत गर्दै शिवसताक्षी नगरपालिकामा फुटबलको विकास गर्ने लक्ष्य लिएको छ ।

फोटो : विनोद पाण्डे (कमल) /आमसंचार

