चारपाने ,७ असोज । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तर्गत शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा रुपन्देही ११ लाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई हराएर सेमीफाईनल खेल खेल्न अवसर प्राप्त गरेको हो ।
पहिलो हाफको ३६ औं मिनेटमा एपीएफका लागि युवराज खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६ औं मिनेटमा खड्काले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई लगभग निस्चित बनाएका थिए । दोस्रो हाफको २३ औं मिनेटमा रुपन्देहीका विदेशी खेलाडी जुलिडले एक गोल फर्काए ।
३१ औं मिनेटमा युवराज खड्काले गरेको प्रहार रुपन्देहीका गोल रक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा दुई गोल गरेका एपीएफका युवराज खड्का खेलको म्यान अफ द म्याच घोषित भए । उनले प्रमुख अतिथि सहारा नेपाल साकोसकी उपाध्य पवित्रा सुब्बाको हातवाट नगद ५ हजार पाए । पहिलो सेमिफाइनलमा आइतबार हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार