दमक।
चाडपर्वको समयमा निजी नम्बर प्लेटका सवारी साधनहरुले यात्रुहरु ओसारपसार गर्ने तथा ठग्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ ।
कानून बिपरीत तथा अनुमति नलिई सञ्चालन हुने सवारी साधनहरुलाई समेत कडाइका साथ अनुगमन गरेर कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सम्बन्धित निकायहरुलाइ निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी तिवारीले यात्रु सहायता कक्षलाई व्यवस्थित बनाउन र त्यहाँ आएका उजुरी तथा गुनासोलाई तत्काल सुनुवाइ गर्ने व्यवस्था मिलाइने समेत बताएका छन् ।
यातायात व्यवस्थापनको बिषयमा जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकमा तिवारीले यात्रुहरुलाई दुव्र्यवहाररहीत र नठगिकन यात्रा गर्ने अवस्था सिर्जना गराउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीले बताए । व्यक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले समेत यात्रु बोक्ने गरेकोले यस्तो कार्य रोक्नका लागि निर्देशन आएको उनले बताए ।
एउटा अञ्चलमा दर्ता भएको टाटा सुमो तथा अन्य साना सवारी साधन अर्को अञ्चलमा गएर यात्रु बोक्न नपाउने प्रावधान रहेको भएपनि यसको समेत उल्लंघन हुँदै आएकाले यसलाई पनि रोकिने बताइएको छ । अहिले रुट परमिट नबनाई तथा बीचबाटोसम्मको रुट परमिट बनाएर पूर्वी नेपालबाट राजधानी तथा राजधानीबाट पूर्व नेपालमा सवारी साधनहरु कुदिरहेका छन् ।
सवारी साधनको दुरुपयोग र सवारी साधनका कारण हुनसक्ने दुर्घटना न्यूनीकरण गर्नका लागि आफूहरुले मातहतका झापाका सबै कार्यालय तथा युनिटहरुलाई निर्देशन दिइसकिएको गिरीले जनाए ।