Aamsanchar

ग्रामीण क्षेत्रका बासिन्दा जंगली च्याउ खोज्न व्यस्त

Author Image
मङ्गलवार, असोज १०, २०७४

लमजुङ, 

जिल्लाका उच्च ग्रामीण क्षेत्रका बासिन्दा अहिले जंगली च्याउ खोज्न व्यस्त भएका छन् । दशैँ खर्च जुटाउन र मासु नखानेका लागि राम्रो तरकारी हुने भन्दै च्याउ खोज्न उनीहरू जंगल पसेका हुन् ।

च्याउ टिप्न स्थानीय बासिन्दा भेडीगोठ, धर्मशाला तथा ओडारमा बास बस्ने गर्छन् । दुईदिनसम्म जंगलमै बास बसेर च्याउ खोज्नुपर्ने सिउरुङकी मिश्रीमाया घलेले बताउनुभयो ।

जंगलमा पाइने च्याउ स्वादिलो र पोषिलो हुने हुँदा देश विदेशबाट यसको माग हुने गरेको सिउरुङका स्थानीय उमरबहादुर गुरुङले बताउनुभयो । सुकेको च्याउलाई कोसेलीका रूपमा पनि देशविदेश पठाउने उहाँको भनाइ छ ।

जंगलमा पाइने च्याउबाट राम्रो आम्दानीसमेत हुने गरेको छ । कतिपयले च्याउ बेचेर नै दशैँ खर्चको जोहो गर्ने गर्छन् । सक्नेहरुले दुई दिनमै रु दुई हजारदेखि १० हजारसम्म आम्दानी गर्न सकिने भुलभुलेका कमलबहादुर खत्रीले बताउनुभयो ।

उच्च लेकाली क्षेत्रमा भदौ अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म च्याउ पाइन्छ । लेकबाट ल्याएको च्याउ घरमा ल्याई केलाउने तथा घाममा सुकाएर सुकुटी बनाउने गरिन्छ ।

लेकको जंगलमा भाँचिएका रूखमा ठुटोमा च्याउ उम्रिएको हुन्छ । खाने च्याउ गाउँलेले चिनेका हुन्छन् । लमजुङको खुदी, भुलभुले, उस्ता, बाहुनडाँडा, घेर्मु, ताघ्रिङ, पसगाउँ, घनपोखरालगायतका उच्च लेकाली क्षेत्रमा च्याउ पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर