[भरत शिवाकोटी] युएई,
कविता
दशैँ तिमी हरेक बर्ष आउँछौ
तर तिमी कति निर्दयी छौ
अनुमती बिना सबैको मन-मनमा छिर्छौ
अनि आतेसवाजी गर्दै रमाउछौ र
झुप्राहरुलाई गिज्याउछौं
ती आकाश छानो भएका वस्तीहरु
जसको धुरीबाट मुस्किलले धुँवा निस्कन्छ
जसको मुस्किलले लाज छोपिएको छ
ऊ चाहदैन, तिमी बारदलीमा बसेर उसलाई गिज्याऊ
ऊ चाहदैन, तिमी देखिनेगरी छिमेकीको घर-घरमा आऊ
तर निर्लज्ज दशैँ
तिमी हरेक बर्ष आउँछौ !
तिमी हरेक नेपालीको मस्तिस्कमा पस्छौ
अनि देश देखि परदेश सम्म आउँछौ र
हुनेहरुको बुई चढेर लिंग्गे पिङ खेल्दै
नहुनेहरु सँगै परदेशीको घाँटी अठयाउँछौ
बच्चाहरुको प्रशनको नाजवाफ सँगै कलहको बिऊ रोपिदिन्छौ
हजारौं रामे र चम्पाहरुको मुटु छिया-छिया बनाएर
रुवाउछौ र देखाउँछौ रवाफपूर्ण तमासा
फेसबुकका भित्ताहरुमा राता टिका र जमराहरू पोखिदिएर
परदेशका साइला र सुन्तलीहरु मुर्छा पार्न
खुशीका झ्याम्टाहरु बजाउँदै
दशैँ तिमी हरेक बर्ष आउँछौ !
दशैँ तिमीलाई झुप्राहरुको पुकार छ
परदेशीहरुको बिन्ती छ, अर्को बर्षदेखि तिमी
क्यालेण्डरमा नगरा बजाउँदै नआइदेऊ
हुने खानेहरुको घरमा मात्र आइदेऊ
परदेशी नभएका घरमा मात्र आइदेऊ र
खुशीहरुलाई चुकुल लाएर घरभित्र नै राखेर रमाऊ
ता कि कसैको जीवन रित्तिएको अनुभूति नहोस
लाखौं मनहरु तिम्रो नाम सुनेर विक्षिप्त नबनुन
सक्छौ भने तिमी सबैका निमित्त समान बनेर आऊ
तर आधा नेपालीलाई रुवाउन र दुखाउन नआऊ
दशैँ तिमि हरेक बर्ष दशा बनेर नआऊ
दशैँ तिमी हरेक बर्ष कस्ट र पिँडा दिन नआऊ !!
(समाप्त)