भद्रपुर ।
झापाको सिमावर्ती भद्रपुर बजारमा व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दै म्याद गुज्रिएका, अखाद्य सामग्रीहरु बिक्री वितरण गरिरहेको पाइएको छ ।
स्थानीय निकायमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेयता भद्रपुरमा पहिलो पटक बजार अनुगमन गर्दा बजार क्षेत्रका किराना पसल तथा होटलले म्याद गुज्रिएका, लेवल नलगाइएको, खाद्य तथा पेय पदार्थ बिक्री वितरण गरेको फेला परेको हो । 22375244_1130902053713556_498799341_o
भद्रपुर नगरपालिकाको अगुवाइमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक दिनेश ढुंगाना, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख चन्द्रप्रसाद मिश्र लगायत प्रतिनिधि एवम् पत्रकारसमेतको संयुक्त टोलीले भद्रपुर नगरपालिका आसपासदेखि मोहपाल धर्मशाला छेउसम्मको मुख्य बजारका एक दर्जन किराना तथा मिठाइका होटलमा अनुगमन गरेको हो ।
सोक्रममा किराना पसलहरुमा अधिकांश पेय पदार्थ म्याद गुज्रिएको पाइएको, मकैको चामल, गहुँको पीठोका प्याकेटहरुमा लेवल नराखेको, उत्पादन मिति केरमेट गरेको फेला परेको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक ढुंगानाले खाद्य तथा पेय पदार्थको गुणस्तर परीक्षण गरेका थिए । उपभोक्ता अधिकार अनुसार पसलमा उपभोक्ताले देख्नसक्ने गरी मूल्यसूची राखिनुपर्नेमा केही पसलमा त्यो पनि नराखेको पाइएको बताइएको छ ।
टोलीले बजारका न्यू कपुरी किराना पसल, न्यू क्वालिटी स्वीट्स एण्ड फास्ट फुड, इन्द्र स्टोर्स, पार्वती किराना पसल, स्वस्तिका किराना पसल, सोनु मिष्ठान्न भण्डार, अमृत डेरी एण्ड स्वीट्स, लक्ष्मी स्टोर, लक्ष्मी भण्डार, अश्वरोरा स्टोर्स र राज स्टोर्समा अनुगमन गरेका थिए ।
टोलीले म्याद गुज्रिएका खाद्य तथा पेयका साथै तेल, विस्कुट, चकलेट, तयारी चियापत्ती पनि नष्ट गरेको र केही खाद्य पदार्थको गुणस्तर परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण विभाग पठाइने बताइएको छ । अनुगमनका क्रममा होटलवालाहरुलाई कागजले कुनै पनि खाद्य सामग्री नछोप्न चेतावनी दिइएको खाद्य निरीक्षक ढुंगानाले जानकारी दिए ।