Aamsanchar

आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु

Author Image
बुधवार, असोज २५, २०७४

चितवन, 

मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपणको कार्य शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य शुरु गरिसकेको छ भने संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि आवश्यक तयारी गरिरहेको छ ।

अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार तिलगंगा आँखा अस्पताल काठमाडौँमा रहेको नेपाल आँखा बैंकसँग यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपण गर्दा त्यहीबाट झिकाइने उहाँले बताउनुभयो ।

नानी प्रत्यारोपणका लागि अस्पतालले एक जना चिकित्सकलाई अरबिन्द आँखा अस्पताल तमिलनाडु भारत पठाएर आवश्यक जनशक्ति तयार गरिसकेको छ । अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्नेसम्बन्धी तालीम लिएर आइसकेको धरेलले बताउनुभयो ।

नानी संकलनपछि अप्टिसोल मेडिया र कर्नीसोल मेडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी नबिग्रने धरेलले बताउनुभयो ।
नानी प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आउनुभएकी डा पुष्पा गिरी श्रेष्ठका अनुसार उहाँ फर्किएपछि हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फूलो परेर दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । रु ११ हजार लागतमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।

कुनै पनि व्यक्तिको मृत्यु भएको छ÷सात घण्टाभित्रमा आँखाको नानी निकाल्नसकेमा त्यसलाई उत्तम मानिने बताउँदै श्रेष्ठले १२ घण्टासम्ममा निकाल्न सकिने बताउनुभयो । एचआइभी÷एड्स, हेपाटाइटिसजस्ता सरुवा रोग भएका व्यक्तिबाहेकको नानी संकलन गर्न सकिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर