Aamsanchar

बिर्तामोड राउण्ड टेवलले बनाइदियो अनारमनी उज्यालो

Author Image
बिहिवार, असोज २६, २०७४

बिर्तामोड।

बिर्तामोड–४ स्थित अनारमनी प्राथमिक विद्यालयमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । युवाको संस्था बिर्तामोड राउण्ड टेवलको पहलमा त्यहाँ विद्युत् सेवा पुगेको हो । संस्थाले विद्युत् बिस्तारका साथै १ लाख ५ हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच बिर्तामोड राउण्ड टेबलका अध्यक्ष विवेक गुप्तासहित क्लवका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक टंक कटुवाललाई उक्त सामग्री हस्तान्तरण गरे । कटुवालले भने– ‘अनारमनी प्राबि बल्ल उज्यालो भयो ।’ बिर्तामोड राउण्ड टेवलले करिब डेढ महिना लगाएर विद्यालयमा मुख्य लाइनबाट विद्युत् तार बिस्तारका साथै सबै कोठाहरुमा वायरिङ गरी आवश्यक इलेक्ट्रोनिक्स सामान जडान गरिदिएको हो ।
१४ थान सिलिङ फेन, आवश्यक बल्व तथा वायरिङका लागि आवश्यक सम्पूर्ण सामग्री उक्त क्लवले नै खरिद गरेर जडान गरिदिएको उपाध्यक्ष मिजास पोखरेलले जानकारी दिए । विवेक साहेवाला र पोखरेलको संयोजकत्वमा विद्यालयमा उक्त कार्य सम्पन्न भएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
बिर्तामोड राउण्ड टेबल व्यवसायिक क्षेत्रमा क्रियाशील युवाको संगठन हो । राउण्ड टेवल नेपालको २७औं शाखा हो बिर्तामोड । निम्न आर्थिक अवस्थाका बालबालिका अध्ययनरत् उक्त विद्यालयलाई उज्यालो बनाउँदै सहज शिक्षा प्राप्तीमा टेवा पुर्याउन सहयोग गरिएको बताइएको छ ।
क्लवले आगामी दिनमा पनि उक्त विद्यालयलाई सहयोग गर्ने जनाएको छ । विद्यालयका प्रधानाध्यापक कटुवालले सहयोग प्रति सराहना गर्दै अन्य दातृ संस्थालाई पनि सहयोगका लागि आह्वान गरेका छन् । पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले विद्यालयको भौतिक विकासमा बिर्तामोड राउण्ड टेवलले गरेको सहयोग अनुकरणीय रहेको बताए । विद्यालयका एक सय ६९ विद्यार्थी अध्ययनरत् छन् ।
केही वर्षअघिसम्म सामान्य छाप्रोमा रहेको विद्यालयको नेतृत्व प्रधानाध्यापक कटुवालले सम्हालेपछि उनकै अगुवाइमा अभिभावकसँगको सहकार्यमा अहिले विद्यालयले मुहार फेरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर