काठमाडौँ,
सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज तीन लाख ९१ हजार ८३१ ब्यक्ति गरिबको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ । गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लामा बसोबास गर्ने अति, मध्यम र सामान्य गरिब जनतालाई तिहारपछि गरिब परिचयपत्र वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
आज २५औँ विश्व गरिबी निवारण दिवसको सन्र्दभमा मन्त्रालयले भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बागलुङ, कपिलवस्तु, अर्घाखाची, प्यूठान, रोल्पा, बर्दिया, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, अछाम र कैलालीमा रहेका गरिब जनताको सूची सार्वजनिक गरेको हो ।
सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबको सूची आज राजधानीमा सार्वजनिक गर्दै आर्थिक रुपान्तरण बिना गरिबीको अन्त नहुने बताउनुभयो ।
त्यसैगरी, राज्यमन्त्री चम्पादेवी खड्काले मन्त्रालयले अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई निलो रंगको परिचयपत्र तिहारलगत्तै वितरण गर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ मा अन्तरराष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै आएको छ । नेपालमा सहकारी मन्त्रालय स्थापना भएदेखि यो दिवस मनाइदै आएको हो । यस वर्षको नारा ‘गरिबी अन्त्यको लागि जवाफः शान्त र समृद्ध समाज’ तय गरिएको छ ।
नेपालमा कुल जनसंख्यको २३.८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा विश्वबाट सबै प्रकृतिका गरिबीको अन्त्य गर्ने लक्ष्य लिएको छ ।
नेपालमा कुल जनसंख्यको झण्डै आधा जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्यलगायत दैनिक जीवनका १० परिसूचकको आधारमा गरिबीको परिभाषा गरेको छ । संघले दैनिक एक अमेरिकी डलर आम्दानी भएका मानिसलाई गरिबीको सूचीमा राख्दै आएको छ ।
राष्ट्रसंघले विश्वमा तीन अर्ब मानिस गरिबीको रेखामुनि रहेको जनाएको छ भने ८० लाख माानिसले पर्याप्त खाना पाएका छैनन् । गरिबीका कारण ८४ लाख मानिस निरक्षर छन् ।
कार्यक्रममा गरिबीका मापन, कारण र अन्त्यका सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा, अर्थमन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, उद्योग मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले गरिबी निवारण विषयमा विभिन्न प्रकृतिका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, नहकुल केसीलगायतले टिप्पणी गर्नुभएको थियो ।