[गोपालप्रसाद पोखरेल ]
मोरङ,
अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ?
तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उहाँ सात वर्षको उमेरदेखि अन्न नखाइ बाँच्नुभएको छ ।
उहाँले सात वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म कन्दमुल (सक्खरखण्ड, तरुल, आलु आदि) मात्र खानुभयो । त्यसपछि कन्दमुल पनि छाडेर स्याउ मात्र खान थाल्नुभयो । उहाँले सातबर्षको उमेरदेखि नै नुन तेल पनि नखानुभएको उहाँका छोरा शीव भटृराईले जानकारी दिनुभयो । उहाँले सातवर्षकै उमेरदेखि आफ्नै ज्ञानले व्रतको रुपमा नै अन्न र नुन छोड्नु भएको पनि उहाँ बताउनुहुन्छ ।
विगत ६६ वर्षदेखि हालसम्म प्रत्येक दिन बिहान माता भगवतीको पूजाआजा पछि उसिनेको दुईवटा स्याउ खानुहुन्छ र मध्यान्ह १२ देखि १ बजेको समयमा कैलो रङको गाईको मात्रै एक गिलास दूध पिउनु हुन्छ । त्यसपछि फेरि बेलुका पूजाआजा पछि उसिनेको स्याउ खानुहुन्छ । उहाँको प्रत्येक दिन नियमितरुपमा स्याउ र एक गिलास दूध पिएरै चल्ने गरेको छ ।
छिमेकी पुष्पराज आचार्यका अनुसार उमेरले ८२ पुगे पनि जीवनाथ खेती गर्ने बेलामा खेतमा आली लगाउने, बीउ काड्नेजस्ता काम समेत गर्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “घर र खेतबारीको सबै काम गर्दै आएको छु मलाई खासै समस्या भएको छैन । उहाँको १० कट्ठा खेत छ । उहाँले मौसमअनुसार धान, मकै, तोरीलगायतका बाली लगाउने गर्नुहुन्छ । उहाँले आफ्नै घरमा एउटा भगवतीको मान्दिर स्थापना गर्नुभएको छ । उहाँले विगत केही वर्षदेखि अखण्ड दीप बाल्दै आउनुभएको छ ।
सो मन्दिरमा नौरथा, मंसिरे पूर्णिमा, वैशाखे पूर्णिमा, जनैपूर्णिमामा मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छिमेकी लवराज आचार्यले बताउनुभयो । भुल्के, भोजपुरमा जन्मनुभएका उहाँ भट्टराई कुलविकास प्रतिष्ठान, गोठगाउँको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।
उहाँका तीन छोरा र एक छोरी छन् । उहाँ अरु तन्नेरीभन्दा कम हुनुहुन्न । युवाले जस्तै खेतबारीको काम गर्नुहुन्छ भने शारीरिक रुपमा समेत निक्कै तन्दुरुस्त देखिनुहुन्छ ।