गौशाला,
हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताउनुभयो ।
छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।
गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताउनुभयो ।
डालो बुन्दै गरेकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताउनुभयो ।
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।
त्यसैगरी जिल्लाको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
अहिले जिल्लाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।
दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन् ।