काठमाडौँ,
सबै क्षेत्र मिलेमात्र यातायात क्षेत्रमा सुधार आउने सरोकारवालाले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘संयुक्त व्यवसायी तथा मजदूर प्रशिक्षण कार्यक्रम’मा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक वा व्यवसायीले मात्र सुधार गरेर यातायात क्षेत्र नसुध्रिने बताउनुभयो ।
प्रमुख खनालले यातायात क्षेत्रको सुधारका लागि महाशाखाले ठाउँठाउँमा बसस्टप, ट्राफिक बत्ती, तीव्र गतिमा चलाउने सवारी साधनलाई बीचको भाग र यात्रु लिएर हिँड्ने सवारी साधनलाई छेउको भाग प्रयोग गर्न लगाइएको जानकारी गराउनुभयो ।
सवारी चालकलाई सभ्य नागरिकको रुपमा स्थापित गर्न पोशाकको व्यवस्था मिलाउनेबारे छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “सबै यात्रुलाई म यो बसमा यात्रा गर्छु भन्ने वातावरण सिर्जना गर्न यातायात व्यवसायी लाग्नुपर्छ ।” महासंघका कावा अध्यक्ष डोलराज खनालले यातायात क्षेत्रलाई परेका समस्या समाधानका लागि राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका महासचिव सरोज सिटौलाले राज्यको चार खर्ब लगानी रहेको यातायात क्षेत्र पूर्वाधारको अभावले समस्यामा परेको बताउँदै यति धेरै लगानी गरेको यातायात क्षेत्रमा राज्यले लामो समयसम्म पनि ठूला सवारीसाधनका लागि लाइसेन्स खुलाउन सकेको छैन् भन्नुभयो ।
कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रेपलाञ्चोक र नुवाकोटका ९० भन्दा बढी संघसंस्थाका प्रतिनिधिको सहभागीता थियो ।