बिर्तामोड।
झापामा रगत अभावले समस्या निम्तिन थालेपछि रोटरी क्लव अफ बिर्तामोड, रोट्रयाक क्लव अफ बिर्तामोड र रेडक्रसलगायतका संस्था दैनिक रगत संकलन अभियानमा जुटेका छन् । दैनिक ५०देखि ६० युनिट रगत खपत हुने झापामा मृगौला र डेंगुका बिरामीको संख्या थपिएसँगै रगत अभाव बढ्दै गएपछि अभियानकै रुपमा रगत संकलन गर्न थालिएको हो ।
रगत अभावमा बिरामीको उपचारमा समस्या हुन थालेपछि दैनिक रगत संकलन अभियानमा जुटेको बताउँछन्– रोट्रयाक क्लव अफ बिर्तामोडका अध्यक्ष बसन्त वुढाथोकी । अभियान ३६५ दिनसम्म सञ्चालन हुने उनको भनाइ छ ।
नेपालमा हाल ५६ वटा ब्लड बैंक छन् भने रेडक्रस सोसाइटीले पाँच ठाउँबाट अत्याधुनिक कम्पोनेन्ट मेसिनसहितको सेवा शुरु गरेको छ । झापाको भद्रपुर, दमक र बिर्तामोडमा ब्लड बैंक छन् । बीएण्डसी, आम्दा र लाइफलाइन अस्पतालले रक्तसञ्चार युनिट सञ्चालनमा ल्याएका छन् ।
जसमध्ये ६० प्रतिशत रगत बिर्तामोडमा खपत हुने गरेको बताउँछन्– नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सचिव एकराज गिरी । झापामा संकलित रगत भारत र काठमाडौंसमेत पुग्ने गरेको गिरीको भनाइ छ । तथ्यांक अनुसार झापामा वार्षिक १८देखि २० हजार युनिट रगत खपत हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।
कम्पोनेन्ट मेसिनबाट रक्तदाताले उपलब्ध गराएको रगतबाट बिरामीलाई जुन तत्व आवश्यक पर्छ, सोही तत्व उपलब्ध गराउन सकिन्छ । तर, अस्पतालमा वर्गीकृत रगतभन्दा पुरै युनिट रगतको माग हुने भएकाले झापामा रगत अभाव बढेको बताइएको छ । रगत अभाव चर्किन नदिन शुरु गरिएको अभियान राम्रो भएको बताउँछन्– रोट्रयाक क्लव अफ बिर्तामोडका संस्थापक अध्यक्ष प्रबेश बस्नेत ।
आयोजक संस्थाका रुपमा रोटरी क्लव र रोट्रयाक क्लव रहने तथा सह–आयोजकको रुपमा हेल्पिङ हेन्ड्स, क्रिएटीभ नेप्लिज युथ, दाह्री ग्याङ, एम के के गु्रप, रोट्रयाक क्लव अफ बिर्तामोड, अनारमनी सामाजिक युवा परिवार, क्षितिज युवा परिवार, टे«डर्स नेपाल लगायतका संस्था रहेका छन् ।